योमरी पूर्णिमाको अवसरमा रामपुरमा शुभकामना आदनप्रदान

पाल्पा, योमरी पूर्णिमा (यःमरी पुन्ही) को अवसरमा रामपुरमा शुभकामना आदनप्रदान गरी मनाईएको छ । नेवारी महिला समुह (न्याईन्चा पुच) रामपुरले शुभकामना आदनप्रदान गरी रामपुरमा पहिलो पटक योमरी पूर्णिमा मनाएको हो ।

नेवारी महिला समुह (न्याईन्चा पुच)का अध्यक्ष सरस्वती श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले नेवारी समुदायले वर्ष दिनको ३ सय ६५ दिनमा ३ सय ६६ पर्व मनाउँदै आईरहेकोमा योमरी पूर्णिमा पनि महत्वपूर्ण पर्व भएको बताउनुभयो । उहाँले मौलिक संस्कृतिको संरक्षण संगै प्रवद्र्धन गरेर अघि बढ्नु आवशयक रहेको बताउनुभयो ।

नेवा देयदवु रामपुरका अध्यक्ष रुद्रनारायण श्रेष्ठले नेवारी भाषाको संरक्षणका लागि बालबालिकाहरुलाई पनि सिकाउँदै अघि बढ्न आग्रह गर्नुभयो । कार्यक्रममा रामपुर नेवा समाजका अध्यक्ष बाबुराम श्रेष्ठ, नेवा समाजका कृतिनाथ श्रेष्ठ, नेवा समाजका सचिव विमल श्रेष्ठ, सहसचिव सूर्य प्रसाद श्रेष्ठ लगाएतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

नेवारी महिला समुह रामपुरका सदस्य उमा कुमारी श्रेष्ठको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई सचिव विन्दु श्रेष्ठले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन समुहका सदस्य मैना श्रेष्ठले गर्नु भएको हो । नेवारी महिला समुहले योमरी बनाएर प्रसादको रुपमा ग्रहण गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?