अन्धकारमुक्तिको रजत जयन्तीको अवसरमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न

पाल्पा, अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको २५ औं वार्षिक साधारण सभा तथा रजत जयन्तीको अवसरमा विहिबार वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । शहीद बहुमुखी क्याम्पस रामपुर ७ किसानबारीमा ‘देशको अर्थतन्त्रमा सहकारीको योगदान’ विषययक वक्तृत्वकला प्रतियोगिताको आयोजना गरेको थियो ।

सहकारीको आयोजना र शहीद बहुमुखी क्याम्पस रामपुर पाल्पाको प्राविधिक सहयोगमा भएको प्रतियोगितामा क्याम्पसमा अध्ययनरत ११ जना विद्यार्थीको सहभागीता रहेको थियो । प्रतियोगितामा शहीद बहुमुखी क्याम्पस विविएस प्रथम वर्षमा अध्ययनरत सुरक्षा घिमिरे प्रथम, विएड द्वितिय वर्षमा अध्ययनरत अस्मिता खनाल, तृतिय विएड तेस्रो वर्षमा अध्ययनरत अमृत गौतम र सान्त्वना कक्षा ११ का धु्रव परियार भएका छन् । विजेता विद्यार्थीले क्रमश नगद ५ हजार, ४ हजार, ३ हजार र २ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

प्रतियोगीतामा विद्यार्थीहरुले सहकारीले मुलुक संगै विश्व अर्थतन्त्रमा दिएको योगदान, सहकारीको महत्वको विषयमा वक्तृत्वकला मार्फत आफ्ना धारणा प्रस्तुत गरेका थिए । कार्यक्रम अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षता र शहीद बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा भएको थियो । प्रतियोगितामा बोल्दै प्रमुख अतिथी भट्टराईले अन्धकारमुक्ति बचत तथा ऋण सहकारीले स्थापना देखि वित्तिय सेवा संगै समाज रुपान्तरणका लागि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताउनुभयो । विद्यार्थीको प्रतिभा प्रस्फुटन संगै सहकारीको अवधारणाका विषयमा जानकारी दिन क्याम्पसमा कार्यक्रम आयोजना गरेकोमा धन्यवाद समेत ज्ञापन गर्नुभयो ।

शहीद बहुमुखी क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम शिक्षा क्षेत्रमा पनि सञ्चालन गर्न सहकारीलाई आग्रह गर्नुभयो । संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले समुदायमा सहकारी सम्बन्धी चेतना जगाउन विद्यार्थीको महत्वपूर्ण भुमिका हुने भएकाले विद्यार्थीहरुको प्रतिभा उजागर संगै सचेतनाका लागि रजत जयन्तीको अवसरमा प्रतियोगिता सञ्चालन गरिएको जानकारी दिनुभयो । अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष स्वागत खगेन्द्र न्यौपानेको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव ओम प्रकाश बस्याल र शहीद बहुमुखी क्याम्पसका सहायक प्राध्यापक बमकला भुसालले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?