पाल्पा, आधारभूत माध्यमिक विद्यालय जुनियर रेडक्रस सर्कल रामपुर नगारपालिका-७ पाल्पाले आगोलागी पिडित परिवारलाई सहयोग प्रदान गरेको छ । विद्यार्थीहरुले निस्दी गाउँपालिका–३ क्याङ्गरुङ्ग गिनचिसका आगोलागी पिडित परिवारको लागि रकम संकलन गरी प्रदान गरेको हो ।
गत शनिबार दिउँसो भएको आगोलागी बाट पिडित बनेका श्याम बहादुर पल्लीको परिवारलाई जुनियर रेडक्रस सर्कलका विद्यार्थीहरुले विद्यार्थी तथा शिक्षकहरु मार्फत रकम संकलन गरी हस्तान्तरण गरेको हो । पिडित परिवारको लागि संकलन भएको ७ हजार ९ सय ७५ रुपैयाँ रकम पत्रकार इमान सिं राना मार्फत पठाएको हो । विद्यालयका प्रधानाध्यापक रुपनाथ गौतम, जुनियर रेडक्रस सर्कल तथा बालमञ्च परिचालन संयोजक विमला पंगेनी, आधारभूत जुनियर रेडक्रस सर्कलका अध्यक्ष समिक्षा पोखरेल र आधाभूत बालमञ्चका अध्यक्ष प्रविन पाण्डेले पत्रकार रानालाई रकम हस्तान्तरण गर्नु भएको थियो ।
विद्यालयका प्रधानाध्यापक रुपनाथ गौतमले आगोलागीले धनजनको क्षति संगै मानविय क्षति भएको खबर प्राप्त भएपछि विद्यार्थीहरुले स्वतस्फूर्त विद्यार्थी तथा शिक्षकहरु बाट सहयोग संकलन गरेको जानकारी दिनुभयो । रेडक्रसको भवना अनुसार विद्यार्थीहरुले विपद्को घडीमा सहयोगको लागि हात अघि बढाएको उहाँले बताउनुभयो । पत्रकार इमान सिं रानाले प्राप्त सहयोग सम्बन्धित परिवार सम्म पुर्याउन पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । विपद्मा परेका परिवारको लागि सहयोगले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
आधारभूत माध्यमिक विद्यालयमा विद्यार्थीहरुले जन्मदिनमा मिठाई बाँड्ने नभै स्वएच्छिक रुपमा रकम रेडक्रसलाई प्रदान गर्दै आएको छ । विद्यार्थीहरुले सोही रकममा मार्फत विपद्को समयमा सहयोग समेत गर्दै आएको विद्यालयका शिक्षक विष्णु सुनारीले जानकारी दिनुभयो ।