हाेस्दीमा कालिका माई मन्दिरकाे उद्घाटन तथा मूर्ति प्राण प्रतिष्ठा

 

पाल्पा,रामपुर नगरपालिका वडा नं. १० होस्दीमा कालिका माई मन्दिर उद्घाटन तथा मूर्ति प्राण प्रतिष्ठा गरिएको छ । ज्वालादेवी मन्दिर संरक्षण समिति रामपुर पाल्पाले होस्दी फुलबारीमा निर्माण सम्पन्न गरेको मन्दिरको शुक्रबार  उद्घाटन सहित मूर्ति प्राण प्रतिष्ठा गरिएको हो ।

 

मन्दिरको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले धर्म सबैको संस्कार र सभ्यता भएको बताउनु भएको छ । धर्मले मानिसलाई अनुशासनमा बाँध्ने र सभ्य समाज निर्माणका लागि सकारात्मक सोँचको विकास गर्ने बताउनुभयो । पछिल्लो समय मानिसमा धर्म प्रतिको आस्था र विश्वास घट्दै गएको भन्दै सभ्य समाज निर्माणका लागि धर्म संग जोडिन आवश्यक रहेको बताउनुभयो । नगर प्रमुख थापाले धर्म प्रतिको आस्था र विश्वासले समाजमा हुने विकृति नियन्त्तण गर्ने बताउनुभयो । नगर भित्रका धार्मिक क्षेत्रको प्रवद्र्धनका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको प्रष्ट पार्नुभयो ।  नगर प्रमुख थापाले मन्दिर निर्माण गरेर मात्र धर्म पूरा नहुने भन्दै यसको संरक्षण र सम्बद्र्धनमा ध्यान दिन आग्रह समेत गर्नुभयो ।

 

कार्यक्रममा रामपुर नगरपालिका वडा नं.१० का अध्यक्ष तोयानाथ थापा सारुले वडा भित्रका धार्मिक क्षेत्रहरुको संरक्षण र सम्बद्र्धनका लागि आफु प्रतिबद्ध भएर लागेको बताउनुभयो । कार्यक्रममा समाजसेवि चिरन्जिवि सिग्देल , पारवती न्यौपाने , शिक्षक भुपराज भण्डारी , मूर्ति सहयोगदाताको तर्फबाट ठानेश्वर भट्टराई ,मनभागा टोल विकास समितिका संयोजक बैकुण्ठ खनालले बोल्नु भएको थियो । मन्दिरका लागि रामपुर नगरपालिका वडा नं.१० होस्दीका मेनुका भट्टराईको परिवारले कालिका माईको मूर्ति प्रदान गर्नु भएको थियो ।

 

ज्वालादेवी मन्दिर संरक्षण समिति रामपुर पाल्पाका अध्यक्ष भूपराज बस्यालको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमु्ख आतिथ्यतामा सम्पन्न भएको हो । समितिका उपाध्यक्ष टंक प्रसाद सेढाँईको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव निर बहादुर राना र ज्ञान प्रसाद भण्डारीले गर्नु भएको थियो । कार्यक्रमका अवसरमा मन्दिर निर्माणका लागि सहयोग गर्ने सहयोगदाताहरुलाई सम्मान समेत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?