सुरक्षा बचत तथा ऋण सहकारीको ११ औं वार्षिक साधारण सभा सम्पन्न

पाल्पा, सुरक्षा बचत तथा ऋण सहकारी संस्था लिमिटेड रामपुर–५, पाल्पाको ११ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाले शनिबार राधादामोदर रेशम सभाहलमा साधारण सभा सम्पन्न गरेको हो ।

संस्थाका अध्यक्ष मञ्जु भट्ट क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रम संस्थाका जेष्ठ शेयर सदस्य लिल बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो । साधारण सभाको उट्घाटन गर्दै प्रमुख अतिथी थापाले सहकारीले समाजमा राम्रो काम गर्दै गएको र आगामी दिनमा थप उत्कृष्ट कार्य गर्दै अघि बढ्न आग्रह गर्नुभयो । रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले सबै संग समन्वय गरेर, नयाँ कार्यक्रम र फरक रणनीतिका साथ अघि बढ्न आग्रह गर्नुभयो । उहाँले सहकारीको उत्थानका लागि शेयर सदस्यहरु सबैले अपनत्व ग्रहण गर्नु आवश्यक रहेको बताउँदै वडा तथा नगरपालिकाले सहकारीहरुलाई थप व्यवस्थित बनाउन पहल गरिरहेको बताउनुभयो ।

संस्थाका सल्लाहाकार संयोजक लेखनाथ रेग्मीले छरिएर रहेका पुँजी संकलन गरि आर्थिकस्तर वृद्धिका लागि सहकारीले सहयोग गरेको बताउनुभयो । कार्यक्रममा रामपुर नगरपालिका ५ का वडा सदस्य युवराज शाही, संस्थाका सञ्चालक समिति सदस्य विष्णु प्रसाद आचार्य, रामपुर बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गुरु प्रसाद रेग्मी, हातेमालो बचत तथा ऋण सहकारी संस्थाका कोषाध्यक्ष बालकृष्ण रेग्मी, शेयर सदस्य गिरमान श्रेष्ठ र नगेन्द्र प्रसाद काफ्लेले शुभकामना मन्तव्य राख्नु भएको थियो । साधारण सभाको अवसरमा संस्थाका कोषाध्यक्ष दिपकराज लम्सालले गत आर्थिक वर्षको आर्थिक विवरण प्रस्तुत गर्दै ३० लाख ८५ हजार ९ सय २० रुपैयाँ संस्थाले खुद नाफा गर्न सफल भएको जानकारी दिनुभयो ।

कार्यक्रममा गत वर्ष एसईईमा सवोत्कृष्ट अंक ल्याउने शेयर सदस्य महेश पौडेलको छोरा सुगम पौडेल, थाम कुमारी आलेको छोरा कुशल आले, जेष्ठ सदस्य लिल बहादुर थापालाई सम्मान गरेको थियो । कार्यक्रममा असल ऋणी मध्ये युवराज पराजुली, नियमित बचत कर्ता मञ्जु कंडेल, बाल बचत कर्ता प्रिशा शाहीलाई पुरस्कृत गरेको थियो । खुत्रुके बचत कर्ता मध्ये १६ जनालाई उपहार प्रदान गरिएको थियो । साथै संस्थाले शेयर सदस्य स्वर्गीय मन बहादुर खाँण, गणेश प्रसाद न्योपाने र दिल बहादुर सुनारलाई मरणोपरान्त सम्मान गरेको छ ।

सञ्चालक समितिका उपाध्यक्ष मोहन सिं रानाको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव राम बहादुर रानाले गर्नु भएको थियो । साधारण सभा अवसरमा सेवा क्षेत्र भित्रका आधारभूत तहमा अध्ययनरत विद्यार्थीहरु विच भएको हाम्रो रामपुर हाम्रो गौरव विषयक वक्तृत्वकला प्रतियोगिता भएको थियो । १३ जनाको सहभागीता रहेको प्रतियोगितामा प्रथम दरैठाँटी माध्यमिक विद्यालयका सृष्टि कंडेल, द्वितिय रामपुर आधारभूत विद्यालयका भास्कर विनायक गौतम, तृतिय भूपू सैनिक अंग्रेजी राईजिङ्ग स्कुलका सुस्मीता खत्री र सान्त्वना रामतुलसी माध्यमिक विद्यालयका सिजन ढकाल भएका थिए । शिक्षा उपसमिति संयोजक दिपेन्द्र भट्टराईले जानकारी दिनुभयो । विजेताहरुलाई नगद ४ हजार, ३ हजार, २ हजार र १ हजार सहित प्रमाणपत्र प्रदान गरिएको थियो ।

रामपुर नगरपालिका ५ मटेरीमा कार्यालय स्थापन गरी वित्तिय सेवा प्रदान गर्दै आएको सहकारीले रामपुर नगरपालिका वडा नं. ३, ४, ५, ६ र ७ मा सेवा प्रदान गर्दै आएको छ । संस्थामा हाल ८ सय ८९ जना शेयर सदस्य रहेका छन् भने १ करोड १८ लाख ४९ हजार ३ सय शेयर पूँजी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?