निस्दीका आगलागी पिडित पल्लीको परिवारलाई पाल्पाली समाज युएईको सहयोग

पाल्पा , पाल्पाली समाज युएईले आगलागि पिडितलाई राहत स्वरुप आर्थिक सहयोग गरेको छ । समाजले निस्दी गाँउपालिका वडा नं. २ गिन्चिस झिरुबास पाल्पाका आगलागि पिडित श्याम बहादुर पल्लीको परिवारलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो ।

पिडित परिवारलाई मंगलबार रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले पाल्पाली समाज युएईको ९० हजार र सहयोग हस्तान्तरणका लागि गएको टोलीको १० हजार रुपैयाँ गरि नगद १ लाख रुपैयाँ सहयोग हस्तान्तण गरेको हो । सहयोग रकम हस्तान्तरण गर्दै नगर प्रमुख थापाले दुखको समयमा सहयोग गर्नु मानवीय धर्म भएको बताउनुभयो । वैदेशिक रोजगारीको लागि देश बाहिर रहेर स्वदेशमा दुखको समयमा सहयोग गरेर उदहारणीय काम गरेको बताउनुभयो । साथै दुखको वेलामा गर्ने यस्ता आर्थिक र भौतिक सहयोगले पिडित परिवारलाई मलहम लगाउने काम भएको उल्लेख गर्नुभयो । समाजले आगलागी पिडित पल्लीको परिवारलाई सहयोग गरेकोमा सबै सहयोगदाताहरुलाई धन्यवाद समेत दिनुभएको छ । नगर प्रमुख थापाले आवश्यक प्रक्रिया पुरा गरेर आए नगरपालिकाले पनि छिमेकी पालिकाको रुपमा सहयोग गर्ने बताउनुभयो ।

रकम हस्तान्तरण कार्यक्रममा पाल्पाली समाज युएईका उपाध्यक्ष कृष्ण प्रसाद तिमिल्सिनाले दुखको समयमा सहयोग गर्नु आफुहरुको पनि कर्तव्य हो भन्ने महसुस गरेर सहयोग गरेको र रकमको सही सदुयोग गर्न आग्रह गर्नुभयो । रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष कपिल बहादुर खाँण , नेपाली काँग्रेस रामपुरका नगर सभापति नेत्र प्रसाद भट्टराई , रामपुर आधारभुत विद्यालयका प्रधानाध्यापक विजय शर्मा , रामपुर नगरपालिकाका प्रेस सल्लहाकार दानु हिस्की मगर लगाएतको सहभागिता रहेको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रमको सञ्चालन पत्रकार सिता डोटेलले गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?