पाल्पा, अर्थमन्त्री डा. प्रकाश शरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्किएको बताउनु भएको छ । अर्थतन्त्रमा थुप्रिएका समस्याहरुलाई बिस्तारै हटाउँदै गएकाले विस्तारै सुधार देखिन थालेको बताउनु भएको हो ।
अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्था रामपुर पाल्पाको २५ औं वार्षिक साधारण सभा तथा रजत जयन्ती विशेष समारोहको समुद्घाटन गर्दै मन्त्री डा. महतले अबका दिनमा यो भन्दा पनि बढी सुधार हुने दाबी समेत गर्नुभयो । अर्थमन्त्री महतले अर्थतन्त्र सिथिल देखिनुको कारण कोभिड, कर्जा प्रवाह नहुनु, लगानीका प्रतिफल प्राप्त नहुनु, पछिल्लो समयमा व्याजमा वृद्धि हुनु र जग्गाको कारोबारमा मन्दी छाउनु रहेको जिकिर गर्नुभयो । उहाँले ठप्प भएको पर्यटन व्यवसाय लयमा फर्किएको र अब पर्यटन प्रवद्र्धनका लागि पूर्वाधार निर्माणमा ध्यान दिनु आवश्यक रहेको बताउनुभयो ।
‘हाम्रो टुरिजम ठप्प थियो, ब्याक भइरहेको छ । हामीले १० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेका थियौं । अबको लक्ष्य २० लाख, ५० लाख हुँदै करोडको लक्ष्य लिनु आवश्यक छ । जसका लागि पर्यटन पूर्वाधार निर्माणमा जोड दिनु पर्छ ।’ उहाँले भन्नुभयो । अर्थतन्त्रलाई अझै चलायमान र सुदृढ बनाउन सकारात्मक सोच र प्रचारको आवश्यकता रहेको समेत उहाँले बताउनुभयो । कोभिड अघि र पछि राष्ट्र बैकले सस्तोमा ऋण लगानी गर्दा नागरिकले धेरै भन्दा धेरै ऋण ल्याउने गर्दा समस्या आएको उनले उल्लेख गर्नुभयो । मन्त्रीले महतले भन्नुभयो, ‘जग्गा सेयरमा लगानी गरेकाहरुमा काम भएन ऋण तिर्न सकेनन जसले समस्या भो, राष्ट्र बैकले पनि व्याज बढाएर कडा गरे पछि समस्या आयो । अर्थतन्त्र खत्तम भयो भनेर हला फिजाइएको हो । अहिले हल्ला फिजाईए जस्तोे नभएको बताउनुभयो ।
मन्त्री महतले सहकारी बाट बचतकर्ताको रकम हिनामिना गर्नेहरु कानुनको दायरामा आउने समेत बताउनु भयो । सहकारी बाट ठगी भएको घटनाहरु आईरहेको सन्दर्भमा बचत कर्ता माथि विश्वास घात गर्नेहरुलाई कानुनको दायरामा ल्याएरै छाड्ने बताउनुभएको हो । सदस्यको पसिनाको कमाई दुरुपयोग गर्ने कसैलाई छुट नभएको बताउनुभयो । ‘बचतकर्ताको विश्वसलाई माथि घात गर्नेहरु एक छिनको लागि कानुन्को दायरा बाट भाग्लान् तर संधै भाग्न सक्दैनन् ।’ उहाँले भन्नुभयो, ‘कानुनको दायरामा उनीहरु अवश्य पनि आउँछन् । किन भने बचत कर्ताको पैसा हो । याहाँहरुको पसिनाको एक एक पैसा बाट जम्मा भएको रकम हो । दुरुपयोग गर्ने छुट छैन ।’
सहकारीको नियमक निकाय नहुँदा सहकारीले बैंकको रुप लिएको बताउनुभयो । सहकारीको व्यवस्थापक को छन् भन्ने सदस्यहरुलाई थाहा नभएको र विश्वास कै भरमा बचत गर्दा कतिपय सहकारीका सदस्य माथि विश्वास घात भएको बताउनुभयो । देशैभर रहेका सहकारीको नियमनका लागि सरकारले छुट्टै नियामक निकाय गठन गर्ने प्रक्रिया अघि बढाएको जानकारी दिनुभयो । निजी क्षेत्र, सार्वजनिक क्षेत्र र सहकारीको सहभागीता विना देशको आर्थिक तथा सामाजिक हुन नसक्ने बताउनुभयो । मन्त्री महतले रजत जयन्तीको अवसरमा स्तम्भ अनावरण तथा स्मारिका विमोचन गर्नु भएको थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठले सहकारीले आर्थिक तथा सामाजिक रुपान्तरणमा सहयोग गर्दै आएको बताउनु भएको थियो । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लिमिटेड (नेफ्स्कुन)का अध्यक्ष चन्द्रप्रसाद ढकालले उत्पादनमुलक क्षेत्रमा लाग्नु आवश्यक रहेको बताउनुभयो । उहाँले सहकारीलाई प्रविधिमैत्री बनाउँदै अघि बढ्नु आवश्यक रहेको बताउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले सहकारीले वित्तिय सेवा संगै आर्थिकस्तर वृद्धिमा महत्वपूर्ण सेवा दिएको बताउनुभयो । नेपाली कांग्रेसका केन्द्रिय सदस्य सीता देवकोटा पाण्डे, अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप राना, नेपाली कांग्रेस पाल्पाका जिल्ला उपसभापति ज्ञान बहादुर गाहा, नेकपा एकिकृत समाजवादी पाल्पाका उपाध्यक्ष मोहनीलाल गैरे, जिल्ला बचत तथा ऋण सहकारी संघ पाल्पाका अध्यक्ष जगदिश भट्टराईले आफ्नो धारणा राख्नु भएको थियो ।
सहकारी संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष खगेन्द्र प्रसाद न्यौपानेको स्वागत र सचिव ओम प्रकाश बस्यालको सञ्चालनमा भएको हो । वि.सं. २०५५ मा खेतको आलीबाट २८ जना सदस्यहरुले मासिक ५० पैसा बचत बाट सुरु भएको सहकारीले पाल्पा जिल्लाभर आफ्नो सञ्जाल विस्तार गर्न सफल भएको छ । संस्थामा हाल १० हजार सात सय ७६ बढी शेयर सदस्य आवद्ध रहेको यस सहकारीको कुल पूँजी एक अर्ब ५१ करोड रहेको संस्थाका अध्यक्ष सागर प्रसाद देवकोटाले जानकारी दिनुभयो । बचत तथा ऋणको कारोबार गर्दै आएको सहकारीले लघुवित्त सेवा प्रदान गर्दै आएको छ ।
रामपुर नगरपालिका–७ डुम्रीगाउँमा प्रधान कार्यालय रहेको सहकारीले रामपुर–५ बेझाँड बजार, रामपुर–९ को जब्गादी, रामपुर–१० को रामटार, निस्दी–५ को ढुङ्गानाबेँसी र रम्भा गाउँपालिका–५ को ताहुँ सेवा केन्द्रबाट सेवा प्रदान गर्दै आइरहेको संस्थाका व्यवस्थापक दिपेन्द्र प्रसाद पौडेलले जानकारी दिनुभयो । सहकारीले सेवाग्राहीलाई दृष्टिगत गर्दै तीन सय ६५ दिन नै सेवा दिँदै आएको छ ।