कार्यकर्तालाई एकजुट भएर अघि बढ्न कांग्रेस प्रवक्ता डा. महतको आग्रह

पाल्पा, नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाश शरण महतले पार्टीका कार्यकर्ताहरुलाई भिडेर नभै मिलेर अघि बढ्न आग्रह गर्नु भएको छ । नेपाली कांग्रेस रामपुर नगर कार्यसमितिले आयोजना गरेको भेटघाट कार्यक्रममा बोल्दै डा. महतले एकजुट भएर अघि बढ्न कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको हो ।

उहाँले नेपाली कांग्रेस लामो इतिहास बोकेको जिम्मेवार पार्टी भएको बताउनुभयो । कांग्रेसले जे बोल्छ सो काम पुरा गर्ने स्पष्ट पार्नुभयो । ‘नेपाली कांग्रेस लामो इतिहास बोकेको पार्टी हो । अन्यले जस्तो काम कम प्रचार ज्यादा गर्ने पार्टी होईन । यसले जे बोल्छ त्यो काम पुरा गर्छ ।’ उहाँले भन्नुभयो ।

नेपाली कांग्रेस देशलाई समृद्ध बनाउन जिम्मेवार बहन गर्ने पार्टी भएकाले एक जुट भएर अघि बढ्न आग्रह गर्नुभयो । ‘ देशलाई जिम्मेवार पार्टीको हैसियतले समृद्धि तर्फ लैजान आवश्यक छ । त्यसैले हामी एकजुट भएर अघि अगाडी बढ्नु पर्छ ।’ मन्त्री महतले समानुपातिक बाट समावेशी तर्फका सांसद चयन गर्नु भन्दा पनि प्रत्यक्ष लड्ने उम्मेद्वार समावेशी माध्यम बाट तयार गरिने बताउनुभयो ।

कांग्रेस रामपुर नगर कार्यसमितिका सभापति नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रम उपसभापति ज्ञान राज भण्डारीको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन नगर सचिव चिरिन्जीवि सिग्देलले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?