अन्याय र अत्याचार विरुद्ध लडिरहने छौं : सभापति लामिछाने

पाल्पा, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेले अन्याय र अत्याचार विरुद्ध लडिरहने बताउनु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी देश र जनताको पक्षमा उभिने बताउनु भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीको पाल्पा खुल्ला सभालाई शनिबार रामपुरमा सम्बोधन गर्दै लामिछानेले जनताको मुद्दालाई शिरमा राखेर हिडेको भन्दै जनताको आशा र भरोसाको दियो कहिल्यै निभ्न नदिने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘जतिसुकै मुद्दा लागोस् । व्यक्तिगत मुद्दा लड्दै गरुला । जित्दै गरुला । हारे पनि केही छैन नेपाली जनताको मुद्दाले हार्नु भएन ।’ लामिछानेले देशको परिवर्तन नीति फेरेर मात्र हुने बताउनु भयो ।

व्यवस्था र वाद फेरेर मात्र होईन नीति फेर्नु आवश्यक रहेको बताउनुभयो । ‘व्यवस्था परिवर्तनका कुराहरु कतिपयले चलाएका छन् । यो भएन । त्यो वाद ल्याउने कि ? त्यो तन्त्र ल्याउने कि ? यो तन्त्र भएन उ तन्त्र भएन । देश त कुनै तन्त्र फेरेर, वाद फेरेर मात्र होईन नीति फेरेर मात्र हुन्छ ।’ उहाँले भन्नुभयोे, ‘नीतिहरुको नीति राजनीति हो । हामी यो देशको शिक्षा नीति फेर्न चाहान्छौं । स्वास्थ्य नीति फेर्न चाहान्छौ । पर्यटन नीति, कृषि नीति फेर्न चहान्छौं । माटो सुहाउँदो बनाउन चहान्छौं । ता कि त्यसले नेपाली जनताको जीवनलाई फेरोस् ।’ पार्टीले सदनमा आवज बुलन्द बनाएर अघि बढिरहेको बताउनुभयो ।

लामिछानेले देशमा भ्रष्टचार, राजनीतिमा अपराधीकरण बढेकाले सरकारले जेलमा रहेका भ्रष्टचारी, अपराधीलाई निकाल्ने काम गरिरहेको भन्दै भ्रष्टचारी, अपराधीलाई उम्कन नदिने बताउनुभयो । उहाँले अब मत परिवर्तन गरिएन भने देश परिवर्तन नहुने बताउँदै राष्ट्रिय स्वतन्त्र पार्टीलाई अवसर दिन पनि आग्रह गर्नुभयो । जनतालाई दुःख दिएर कुनै पनि आन्दोलन गर्ने पक्ष पार्टी नरहेको बताउनुभयो । ‘विषम परिस्थिति आयो अत्यन्तै दयनिय परिस्थिति आयो । राष्ट्रियतामा ठूलो आँच आयो । मुलुकमा कुनै उपाय नहुने अवस्थामा बाहेक हामी नेपाली जनतालाई दुख दिन चाहान्नौ ।’

सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री एवं संघीय सांसद सुमना श्रेष्ठले संसदमा राष्ट्रघाती कानुन आएको बताउँदै त्यसको बिरुद्धको लागि खबरदारी गरिरहेको बताउनुभयो । राष्ट्रिय स्वतन्त्र पार्टी सबैको साझा पार्टी भएकाले जनताका मुद्धा, समस्यालाई संसदमा उठाउँदै आइरहेको बताउनुभयो । केन्द्रिय सदस्य अर्जुन अधिकारीले नेतृत्व कै कारण देशको अवस्था खस्किदै गएको भन्दै एक पटक अवसर प्रदान गर्न आग्रह गर्नुभयो । केन्द्रिय सदस्य इश्रा मुल्ला मियाले सुशासनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिवद्ध भएर लागेको बताउनुभयो । लुम्बिनी प्रदेश इन्चार्ज गणेश पौडेलले समेत सभालाई सम्बोधन गर्नु भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी पाल्पाका संयोजक विष्णु प्रसाद भण्डारीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगर सभापति अर्जुन श्रेष्ठको स्वागत र पाल्पा उपसंयोजक सुमन गैरेको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?