पाल्पा, जिल्लाको रामपुर नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले आईतबार आर्थिक वर्ष २०८०÷०८१ को पहिलो सार्वजनिक सुनुवाई सम्पन्न गरेको हो ।
कार्यक्रम रामपुर नगरपालिकाको आयोजना र राष्ट्रसंञ्चार मिडिया प्रा.लि.को सहजीकरणमा भएको थियो । सार्वजनिक सुनुवाईमा सहभागीले उठाएका जिज्ञासा मेटाउँदै रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले विकासका पूर्वाधार निर्माणको काम अघि बढिरहेको र व्यवस्थापनका काम अझै बाँकी रहेको बताउनुभयो । उहाँले कृषक तथा व्यवसायीहरुको प्रोत्साहनका लागि नगरपालिकाले पहल गर्दै आएको बताउनुभयो । सबैको सहभागीता र सल्लाह सुझाव बाट मात्रै विकासले गतिलिने बताउनुभयो । नगरको विकासका जनताको सुझाव अपरिहार्य रहेको भन्दै थापाले सुझाव र सल्लाहहरु दिन आग्रह गर्नुभयो ।
रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुर्यदर्शन पण्डितले नगरपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा चालु तर्फ ५४ करोड ५१ लाख ३९ हजार ४ सय २३ विनियोजन भएकोमा हाल सम्म १२ करोड २३ लाख ७३ हजार ४ सय ४८ रुपैयाँ र पुँजीगत तर्फ १८ करोड ३३ लाख ६० हजार ५ सय ७७ रुपैयाँ विनियोजन भएकोमा १ करोड ८३ लाख १८ हजार ७ सय ६१ खर्च भएको जानकारी दिनुभयो । उहाँले कुल विनियोजित रकमको १९ दशमलव ३१ प्रतिशत खर्च भएको जानकारी दिनुभयो । साथै उहाँले सञ्चालन हुने योजनाहरु मध्ये मंसिर सम्ममा ३ सय ७९ योजनामा २ सय ७३ वटा सम्झौता भएको बताउनुभयो ।
रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का वडा अध्यक्ष कपिल बहादुर खाँणले आर्थिक वर्ष २०८०/०८१ लाई आर्थिक वृद्धिको वर्ष भनेर घोषणा गरी राजस्वको दायरा भित्र ल्याउने प्रयास गरे पनि देशमा आईपरेका समस्याहरुले आन्तरिक राजस्व वृद्धिमा कडाई गर्न नसकिएको जानकारी गराउनु भयो । उहाँले राज्यलाई कर पनि तिर्ने र नगरपालिका बाट सुविधा लिने वातावरण बनाउन लागि परेको बताउनुभयो । रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पाेखरेलले वडाका योजना र बजार व्यवस्थापनका विषयमा उठेका प्रश्नको जवाफ दिदै बेझाँड बजारमा भ्यान पार्क र अटो पार्क निर्माण गरी सञ्चालनमा ल्याईएको जानकारी दिनुभयो ।
कार्यक्रममा सहभागी मध्ये ३० जना भन्दा बढीले सुझाव सहितका जिज्ञासा राखेका थिए । सहभागीले योजना सम्झौता, लागत सहभागीता, घर नक्सा पास, गिट्टी बालुवाको टेण्डर तथा उत्खनन्, फोहोर मैला व्यवस्थापन, नगर भित्रका मेडिकलहरुको अनुगमन प्रभावकारी हुन नसकेको, घरहरुको अभिलेखिकरण, शिक्षा क्षेत्रको अवस्था, विद्यालय व्यवस्थापन समिति गठन, सार्वजनिक सेवा लगाएतका विषयमा जिज्ञासा राखेका थिए । सहभागीहरुको जिज्ञासा रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरे, रामपुर नगरपालिकाका इन्जिनियर रञ्जन न्यौपाने, लेखा शाखाका सीता न्यौपाने शिक्षा शाखा प्रमुख विकल काफ्ले, योजना अधिकृत विक्रम बस्नेत, महिला तथा बालबालिका शाखा प्रमुख पुजा परियार, कृषि शाखा प्रमुख नारायण प्रसाद गैरे लगाएतले सम्बोधन गरेका थिए ।
नगरपालिकाको प्राङ्गणमा भएको कार्यक्रम रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको थियो । नगर प्रवक्ता कपिल बहादुर खाँणको स्वागत बाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार विष्णु घिमिरे र सुनिल कार्कीले गर्नु भएको थियो । कार्यक्रममा नगरपालिकाका जनप्रतिनिधि, राजनैतिक दल, कर्मचारी, रामपुर क्षेत्रका सरकारी कार्यालय प्रमुख, पत्रकार तथा स्थानीयहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको पुरा भिडियो हेर्न याहाँ https://fb.watch/pqwiPMnWt_/ क्लिक गर्नुहोस् ।