जिल्ला प्रहरी कार्यालय पाल्पाको नव निर्मित भवन उट्घाटन

पाल्पा, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय पाल्पाको नव निर्मित भवन उट्घाटन गर्नु भएको छ । जिल्ला प्रहरी कार्यालय परिसरमा निर्माण गरिएको ब्यारेक, कार्यालय प्रमुख /सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष र भान्साघर भवनहरूको आइतबार उट्घाटन गर्नुभएको हो ।

प्रहरी महानिरीक्षक कुँवरले सुविधा सम्पन्न कार्यालय भवन, व्यवस्थित तथा गुणस्तरीय ब्यारेक, मेश, लगायत दैनिक आवश्यक पर्ने भौतिक संरचनाले प्रहरी कर्मचारीहरूको मनोबल वृद्धि गर्नुका साथै थप हौसला प्रदान गर्ने बताउनुभयो । उहाँले समाजमा अशान्ति र अराजकता फैलाउने उच्छृङ्खल तथा आपराधिक समुह, सामाजिकहित विपरीतका गैरकानूनी र अनैतिक कार्य गर्ने विरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै किसिमको दवाव र प्रभावमा नपरी शून्य सहनशिलताका साथ कार्य सम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने देखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोग द्वारा संगठनलाई सुदृढ र सक्षम बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव कठिवद्ध रहेको उहाँले बताउनुभयो ।

नेपाल प्रहरीले साधन र श्रोतको वास्ता नगरी निरन्तर जिम्मेवारी बहनमा लागेको कुँवरको भनाई थियो । कार्यक्रममा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी आन्नद काफ्ले, नेपाली काँग्रेसका जिल्ला उपसभापति झपेन्द्र गैरे र रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापा ज्युले शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक हेरम्ब शर्माले जिल्लाको शान्ति, सुरक्षा र अवस्थाको बारेमा जानकारी गराउनुभयो । प्रहरी उपरीक्षक शर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रममा प्रहरी नायव उपरीक्षक ईन्जिनियर रोशन सारुले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघका अध्यक्ष, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, अमर प्रहरीका परिवारहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, समाजसेवी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?