पाल्पा , रामपुर नगरपालिकाले कृषकहरुलाई अनुदानमा हिउँदे तरकारीको विउ विजन वितरण गरेको छ । नगरपालिकाले सोमबार एक कार्यक्रमका विच कृषक तथा कृषि समुहलाई ५० प्रतिशत अनुदानमा लहरे तरकारीको विउ वितरण गरेको हो ।
कृषकहरुलाई विउ विजन वितरण गर्दैै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नगरपालिकालाई तरकारीमा आत्मनिर्भर बनाउनका लागि अनुदानमा बीउ विजन वितरण गरेको बताउनुभयो । कृषकलाई व्यवसायीक र आत्मनिर्भर बनाउन प्रोत्सहानका लागि ५० प्रतिशत अनुदानमा विउ वितरण गरेको उल्लेख गर्नुभयो । “व्यवसायीक कृषक बनीदिनुहोस नसके आफुलाई आवश्यक तरकारी आफै उत्पादन गर्नुहोस ” नगर प्रमुख थापाले भन्नुभयो – “बाहिरबाट आयात गरेको तरकारीमा विषदी प्रयोग हुने भएकाले स्वास्थ्यका लागि हानिकारक हुन्छ । ” बाहिर निर्यात गर्ने गरि तरकारी उत्पादन नगरे पनि कम्तीमा नगरपालिका भित्र आवश्यक तरकारीको मागलाई परिपूर्ति हुने गरि उत्पादन गर्न आग्रह गर्नुभयो । नगरबासीलाई तरकारी खेती तर्फ आकर्षित गर्न कृषकलाई राहत स्वरुप नगरपालिकाले विभिन्न समयमा अनुदानमा विउ विजन वितरण गर्दै आएको नगर प्रमुख थापाले बताउनुभयो ।
रामपुर नगरपालिकाको आर्थिक बर्ष २०८०/०८१ को स्विकृत तेलहन तथा तरकारीको विउ विजन ५० प्रतिशत अनुदान कार्यक्रम अन्तर्गत विउ वितरण गरेको रामपुर नगरपालिकाका कृषि शाखा प्रमुख नारायण प्रसाद गैरेले जानकारी दिनुभयो । साथै वितरित विउ विजनबाट राम्रो उत्पादनका लागि नगरपालिकाले प्राविधिक सहयोग तथा परामर्श दिने बताउनुभयो । उहाँले कृषकको उत्पादनको आधारमा मूल्याङ्क गरेर विभिन्न अनुदान दिईने बताउनु भएको छ ।
कृषकको मागको आधारमा ६ लाख ९७ हजार ३ सय ३२ रुपैयाँ बराबरको काँक्रा , लौका , घिँरौला , तिते करेला ,टमाटर,भिण्डी , टनेबोडी , घ्यू सिमि जातका तरकारीको विउ विजन वितरण गरिएको कृषि जेटिए युवराज नेपालीले जानकारी दिनुभयो । यो कार्यक्रम अन्तर्गत १ सय ५४ जना कृषक तथा कृषि समुहलाई विउ विजन वितरण गरिने र पहिलो दिन ६० जना कृषकलाई विउ विजन वितरण गरिएको कृषि शाखाले जनाएको छ ।