रामपुर नगर गौशाला सञ्चालन समितिको अध्यक्षमा पुनः न्यौपाने चयन

   पाल्पा, रामपुर नगर गौशाला सञ्चालन समितिको अध्यक्षमा पुनः हुमनाथ न्यौपाने चयन हुनु भएको छ । शुक्रबार भएको समितिको प्रारम्भिक साधारण सभा तथा प्रथम अधिवेशनले पुनः न्यौपानेको अध्यक्षतामा ११ सदस्य कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको हो ।

समितिको उपाध्यक्षमा थानेश्वर अधिकारी, सचिवमा बासुदेव ढकाल, कोषाध्यक्षमा चण्डी प्रसाद खनाल, सहसचिवमा लक्ष्मी ढकाललाई चयन गरेको छ । सदस्यहरुमा पिताम्बर भण्डारी, जगन्नाथ कंडेल, भोजराज भण्डारी, चन्द्रकान्त कंडेल, नारायण्न पराजुली र विष्णु खनाल रहनु भएको छ । त्यस्तै अधिवेशनले तुलसीराम भण्डारीको संयोजकत्वमा लेखा समिति गठन भएको छ । सदस्यहरुमा जनक भण्डारी र रेखा पौडेल रहनु भएको छ ।

गौशालाले विद्यान अनुसार भएको साधारण सभा तथा अधिवेशन रामपुर नगर गौशाला समितिका अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षता र रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी थापाले गाईको संरक्षणका लागि वडा नं. ६ का स्थानीयबासीले देखाएको सक्रियताको प्रसंशा गर्दै सबैको साथ र सहयोगले गौशाला वर्तमान अवस्था सम्म आएको जानकारी दिनुभयो । उहाँले गौशाला सञ्चालनका लागि निकै चुनौति संगै अवसरहरु रहेको बताउनुभयो । उहाँले गौशालाको थप व्यवस्थापन संगै धार्मिक एवं पर्यटकिय गन्तव्यको रुपमा अघि बढाउन नगरपालिका लागि परेको बताउनुभयो ।

कार्यक्रममा रामपुर नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष दिवाकर देवकोटा, वडा नं. ७ का वडा अध्यक्ष दोवराज तिवारी, नेपाली कांग्रेस रामपुर नगर समिति सचिव ओम प्रकाश बस्याल, नेकपा माओवादी केन्द्र रामपुर नगर अध्यक्ष यम बहादुर सुनार, नेकपा एकिकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतम, राष्ट्रिय जनमोर्चा रामपुर नगर कमिटी अध्यक्ष रामप्रसाद गैरे, नगर गौशाला समितिका सल्लाहाकार सागर प्रसाद देवकोटाले गाईको रक्षा संगै नगरको पर्यटन विकासमा गौशालाले महत्वपूर्ण योगदान दिएको बताउनु भएको थियो ।

पुनः रामपुर नगर गौशाला सञ्चालन समितिको अध्यक्षमा निर्वाचित हुनु भएका हुमनाथ न्यौपानेले नवगठित समितिको प्रमुख कार्य गाईलाई भोकै रहन नदिने रहेको बताउनुभयो । उहाँले गाईको रक्षा संगै स्थानीय र सरोकारवाला निकाय संग सहकार्य गरी पर्यटन प्रवद्र्धनमा जुट्ने बताउनुभयो । समितिका कोषाध्यक्ष चण्डी प्रसाद खनालले गत आर्थिक वर्षको १ करोड ७४ लाख ८४ हजार ६ सय ५० रुपैयाँ बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । समितिले गौशालाको मल विक्री बाट ३ लाख ६७ हजार १ सय ५०, गौप्रवेश शुल्क बाट १ लाख ५९ हजार ५ रुपैयाँ र दानदाता बाट ४ लाख २४ हजार ३ सय २५ आम्दानी गर्न सफल भएको छ । समितिका उपाध्यक्ष पिताम्बर भण्डारीको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई उपाध्यक्ष थानेश्वर अधिकारीले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन सचिव बासुदेव ढकालले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?