नवौं राष्ट्रिय योग दिवस रामपुरमा पनि मनाईयो

पाल्पा, ‘गरौं योग, रहौं निरोग’ भन्ने मूल नाराका साथ नवौं राष्ट्रिय योग दिवस रामपुरमा मनाईएको छ । रामपुर नगरपालिका आयुर्वेद शाखाको आयोजना र पतञ्जली योग रामपुर नगर समितिको सहआयोजनामा सोमबार कार्यक्रम गरी दिवस मनाईएको हो ।

लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठ योग दिवस विशेष कार्यक्रममा बोल्दै विरामी भए पछि भन्दा पनि विरामी नै हुन नदिनका लागि योग गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामी विरामी भए पछि मात्र योग गर्ने मनस्थिति बनाउँछौं । विरामी भए पछि होईन अब विरामी हुनै नदिनका लागि योग गर्ने गरौं ।’ श्रेष्ठले विकासका लागि आवश्यक सकारात्मक सोच योग र ध्यान बाट मात्र प्राप्त हुने बताउनुभयो । ‘हामी सबै नागरिकलाई योगको महत्वको विषयमा बुझाउन आवश्यक छ । तब मात्र विकासले गति लिनेछ ।’ उहाँले भन्नुभयो, ‘योगमा समय लगानी अरुको लागि होईन । आफ्नो स्वस्थ्यका लागि हो ।’

योग महत्व थप बढ्दै गएको भन्दै त्यसका लागि आवश्यक पूर्वाधार निर्माणमा सरोकारवालाहरु संग सहकार्य गरेर पहल गर्ने प्रतिवद्धता जनाउनुभयो । रामपुर नगरपालिका प्रवक्ता कपिल बहादुर खाँणले सार्थक जीवन जिउनका लागि योग विज्ञान र जीवन विज्ञानले महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो । उहाँले योगको विस्तारका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । रामपुर–५, का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले पछिल्लो समय सर्ने रोग भन्दा पनि नसर्ने रोगको जोखिम बढ्दै गएको भन्दै रोग बाट बच्ने उपाय योग नै रहेको बताउनुभयो । विगतको तुलनामा अहिले परिश्रम र साधना गर्ने शैली हराउँदै गएकाले चिन्तन गर्ने समय आएको बताउनुभयो । पतञ्जली योग रामपुर नगर समितिका उपाध्यक्ष एवं रामपुर ७ का वडा अध्यक्ष दोवराज तिवारीले रामपुरमा नियमित योग सञ्चालन हुँदै आएको र यसले योगको महत्वलाई थप विस्तार गरेको बताउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस रामपुर ६ का सभापति गोविन्द प्रसाद देवकोटा, नेकपा एमाले रामपुर ५ का अध्यक्ष एवं नगर योग समितिका सदस्य मिनराज रेग्मी, योग साधक सुदिप भट्टराई, लुकनाथ घिमिरे र ईश्वरी लम्सालले योगको महत्वको बारेमा बताउनु भएको थियो । विश्वभर योगको आकर्षण बढदै गैरहेको सन्दर्भमा पाल्पाको रामपुरमा पनि सयौंको उपस्थितिमा नियमित योग हुँदै आएको छ । वडा नं. ५ को रामपुर अयुर्वेद अस्पतालको सभाहल, राधादामोदर रेशम सभाहल र वडा नं. ७ को किसानबारी योगहलमा विहानको समयमा नियमित योग अभ्यास हुँदै आएको पतञ्जली योग रामपुर नगर समितिका सचिव सुर्य प्रसाद श्रेष्ठले जानकारी दिनुभयो । समय व्यवस्थापन संगै कार्य सम्पादनमा उर्जा थप्नका लागि योगले महत्वपूर्ण सहयोग गर्ने पतञ्जली योग रामपुर नगर समितिका अध्यक्ष सुदिप गैरेले बताउनुभयो ।

पतञ्जली योग रामपुर नगर समितिका अध्यक्ष गैरेको अध्यक्षतामा भएको कार्यक्रम योग साधक राजेन्द्र प्रसाद लम्सालको स्वागत र रामपुर नगरपालिका आयुर्वेद शाखा प्रमुख चेमन प्रकाश पोखरेलको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?