पाल्पा, चापाकोट नगरपालिका–६, स्याङ्जामा भजन कृतन प्रतियोगिता तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मकर संक्रान्ति तथा योग दिवसको अवसरमा राधा दामोदर मन्दिर चापाकोट नगरपालिका–६, साँखर केलादीधाममा कार्यक्रम भएको हो ।
ग्रामिण सहारा समाज र नेपाल निम्वार्क पीठ राधादामोदर मन्दिरको आयोजना तथा नेपाल रेडक्रस सोसाईटी कास्की शाखाको प्राविधिक सहयोगमा रक्तदान तथा भजन किर्तन प्रतियोगिता सम्पन्न भएको हो । मकर संक्रान्ति तथा योग दिवसको अवसरमा आयोजित भजन कीर्तन प्रतियोगिता तथा रक्तदान कार्यक्रम राधादामोदर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ बस्ताकोटीको अध्यक्षता तथा नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति एवं धार्मिक व्यक्तित्व शुक्रराज शर्माको प्रमुख आतिथ्यतामा भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी शर्माल पवित्र नदी कालीगण्डकी किनारमा अवस्थित केलादी धाम आफैमा ऐतिहासिक धार्मिक स्थल रहेको बताउनुभयो । उहाँले धर्म संस्कृति संरक्षण र सम्वद्र्धनका वर्तमान समाजमा नैतिक शिक्षाको खाँचो रहेको बताउनुभयो । केलादी संगै सिङ्गो कालीगण्डकी बेशी क्षेत्रको विकासका लागि यस क्षेत्रका सरकारवालाहरु गुरुयोजना बनाएर अघि बढ्नु आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराई, कांग्रेस स्याङ्जाका कार्यवाहक सभापति केदार काफ्ले, ग्रामिण सहारा समाजका पूर्व अध्यक्ष प्रमोद पोखरेल, चापाकोट नगरपालिका ६ का वडा अध्यक्ष तारा देवी पोखरेलले शुभकामना मन्तव्य राख्दै धर्म संस्कार संस्कृतिको प्रवद्र्धनका लागि भएको कार्यक्रमको प्रसंशा गर्नु भएको थियो । कार्यक्रम अन्तर्गग भएको भजन किर्तन प्रतियोगितामा प्रथम कालीगण्डकी भजन कीर्तन समूह पाल्पा, द्वितीय मिलिजुली भजन किर्तन समूह स्याङ्जा र तृतीय टापुधाम कीर्तन समूह खटाङ पाल्पा भएको छ । प्रतियोगितामा विजयी समुहले क्रमश नगद २० हजार, १५ हजार र १० हजार सहित प्रमाणपत्र प्राप्त गरेको भजन कृतन प्रतियोगिताका संयोजक नारायण गौतमले जानकारी दिनुभयो । कार्यक्रममा ३७ जना दाताहरुले रक्तदान गरेको रक्तदान कार्यक्रम संयोजक विनोद पोख्रेलले जानकारी दिनुभयो ।
धर्म संस्कृतिको प्रवद्र्धन संगै कालीगण्डकी नदीको महतव बारे जानकारी दिन तथा विगतमा हुने माघे संक्रान्ति मेलाको निरन्तरताको प्रयास स्वरुप कार्यक्रम हुँदै आएको ग्रामिण साहारा समाजका अध्यक्ष रामचन्द्र भट्टराईले जानकारी दिनुभयो । राधा आमा समूहका मनिषा पोखरेलको स्वागतबाट सुरु भएको कार्यक्रमको सञ्चालन राधा दामोदर मन्दिर व्यवस्थापन समितिका सचिव घनश्याम खनाल र सहारा समाजका सचिव रमेश भट्टराईले गर्नुभएको हो थियो । कार्यक्रममा स्याङ्जा पाल्पा, तनहुँ, नवलपुर कास्की लगायतका स्थानबाट हजारौं संख्यामा उपस्थित रहेको थियो । राष्ट्रिय योग दिवसको अवसरमा सोमबार विहान योग अभ्यास समेत भएको थियो ।