पाल्पा, रामपुर नगरस्तरीय चौथो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी रामतुलसी नमुना माध्यमिक विद्यालयले जितेको छ । तीन दिन सम्म चलेको प्रतियोगिता अन्तर्गत विभिन्न विधाका खेलमा उत्कृष्ट स्थान हासिल गर्दै रामतुलसी नमुना माविले उपाधी जितेको हो ।
प्रतियोगिता अन्तर्गत विभिन्न खेलहरुमा ९ स्वर्ण पदक, ६ रजत र ४ कास्य सहित १७ पदकका साथ रामतुलसीले चौथो पटक रनिङ्ग शिल्ड जित्न सफल भएको हो । त्यस्तै प्रतियोगितामा ५ स्वर्ण, ३ रजत र २ कास्य सहित १० पदकका साथ जनकल्याण माध्यमिक विद्यालय रामपुर १० द्धितिय भएको छ । तृतिय उपाधी नवदुर्गा माविले प्राप्त गरेको छ । ४ स्वर्ण, १ रजत र ३ कास्य सहित नवदुर्गा माविले तृतिय स्थान हात पारेको हो । प्रतियोगितामा ३ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित भूपू सैनिक राईजिङ्ग इङ्गलिश स्कुल सान्त्वना भएको छ । प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी र तेक्वान्डो अन्र्तगतका विभिन्न विद्याको खेलमा छात्रछात्राहरुले प्रतिस्पर्धा गरेका थिए ।
नगर भित्रका १७ सामुदायिक र ४ संस्थागत गरी २१ विद्यालयका छात्रछात्राहरुले प्रतियोगितामा सहभागीता जनाएको रामपुर नगरपालिका शिक्षा शाखा अधिकृत विकल काफ्ले जानकारी दिनुभयो । प्रतियोगितामा दरै ठाँटी माविले २ स्वर्ण, ३ रजत र ७ कास्य पदक, शहिद बहुमुखी क्याम्पसले २ स्वर्ण, २ रजत र १ कास्य पदक, आधारभूत माविले १ स्वर्ण, २ रजत र ४ कास्य पदक, अनन्द निकेतन विद्याश्रमले १ स्वर्ण, १ रजत र २ कास्य पदक, गंगा माविले १ स्वर्ण, २ कास्य पदक, रामपुर आवासिय माविले १ स्वर्ण, १ रजत र २ कास्य पदक, जनविकास माविले १ स्वर्ण, ३ रजत र १ कास्य पदक, भानुभक्त मावि रामपुर १०ले १ स्वर्ण, २ रजत र १ कास्य, कृष्णादेवी माविले १ रजत पदक जित्न सफल भएको छ ।
रामपुर नगरपालिकाको आयोजना र दरैठाँटी माध्यमिक विद्यालयकोे व्यवस्थापनमा गत शुक्रबार देखि ३ दिन सम्म रामपुर ६ विजयपुर खेल मैदानमा प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा विजयी विद्यार्थी र विद्यालयलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । विजयी विद्यार्थी तथा विद्यालयलाई पुरस्कार वितरण गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले खेल हार जितका लागि मात्र नभई स्वास्थ्य र अनुशासनका लागि पनि भएको बताउनुभयो । उहाँले खेलकुदले खेलको मात्र नभई मानसिक र सामाजिक विकासमा पनि महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो । थापाले विद्यार्थीहरुलाई बधाई सहित आगामी प्रतियोगिताको लागि शुभकामना व्यक्त गर्नु भएको थियो ।
आयोजक विद्यालय दरैठाँटी माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताका सदस्य सचिव सुन्दर प्रसाद देवकोटाले धन्यवाद ज्ञापन गर्नु भएको कार्यक्रमको सञ्चालन शिक्षक दिपेन्द्र प्रसाद भट्टराई र राधिका केसीले गर्नु भएको थियो । यस भन्दा अगाडीका पनि रामतुलसी माध्यमिक विद्यालयले लगातार ३ पटक सम्म रनिङ्ग शिल्डको उपाधी जितेको थियो । प्रतियोगिता समापनको अवसरमा उट्घाटन सत्रमा प्रदर्शन गरिएको मार्च पास मध्ये रामपर अंग्रजी आवासिय मावि उत्कृष्ट हुन सफल भएको छ । साथै झाँकी प्रदर्शनी तर्फ सरस्वती मावि रामपुर २ लाई सम्मान गरिएको थियो ।