सहलकोटमा वडा स्तरीय भलिबल तथा विविध सांस्कृतिक मेला सम्पन्न

पाल्पा, निस्दी गाउँपालिका–२, सहलकोटमा दोस्रो सहलकोट खुल्ला वडा स्तरीय भलिबल प्रतियोगिता तथा विविध सांस्कृतिक मेला सम्पन्न भएको छ । सहलकोट खेलकुद विकास समिति निस्दी–२, को आयोजना, निस्दी गाउँपालिकाको आर्थिक सहयोग र निस्दी खेलकुद विकास समितिको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो ।

वडा स्तरीय प्रतियोगिताको उपाधी बौदीकाली गाउँपालिका–४, नवलपुरले जित्न सफल भएको छ । फाईनल खेलमा बौदीकाली गाउँपालिका–२, लाई ३÷० को सोझो सेटमा पराजित गर्दै उपाधी जितेको हो । यस संगै बौदीकाली–२ द्वितिय स्थानमा सिमित भएको छ । १० समुहको सहभागीता रहेको प्रतियोगितामा पूर्वखोला गाउँपालिका–१ सिलुवा तृतिय भएको छ । तृतिय स्थान छनौटका लागि भएको खेलमा रामपुर नगरपालिका–९ जब्गादीलाई ३÷० को सोझो पराजित गर्दै तृतिय भएको हो । रामपुर ९ ले सान्त्वना स्थानमा चित्त बुझाएको छ । सहलकोट खेलकुद विकास समिति निस्दी–२, को आयोजना र निस्दी गाउँपालिकाको आर्थिक सहयोगमा भएको प्रतियोगिता प्रथम, द्वितिय, तृतिय र सान्त्वना हुने समुहले क्रमश नगद ६० हजार, ४० हजार, २० हजार र १० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी हिमाल सुनारी, उत्कृष्ट डिफेन्सर बिनोद नेपाली, उत्कृष्ट ब्लकर विस्वास अधिकारी, उत्कृष्ट सर्भर आशिष श्रेष्ठ, उत्कृष्ट सेटर दानु गाहा, र उदियमान खेलाडी देवराज सारुलाई नगद तथा मेडलले सम्मान गरेको थियोे । सहलकोट खेलकुद विकास समितिका अध्यक्ष सुनिल कानु मगरको अध्यक्षतामा भएको कार्यक्रम निस्दी गाउँ पालिकाअध्यक्ष मुक्त बहादुर सारुको प्रमुख आतिथ्यतामा भएको हो । प्रमुख अतिथी सारुले पुरस्कार वितरण गर्दै राष्ट्रिय खेलाडी उत्पादन गर्न यस्ता कार्यक्रमले सहयोग गर्ने बताउनुभयो । साथै खेल क्षेत्र मात्रै नभई स्थानीय लोक सस्कृती झल्काउने झाकिले लोकोन्मुख लोक सस्कृतीको जगेर्ना, संरक्षरण र सम्बर्द्धन हुनेमा जोड दिनुभयो ।

कार्यक्रममा नेपाल मगर सास्कृतिक संघ केन्द्रीय उपाध्यक्ष पदम थापा मगर, पाल्पा लोक आइडल धनमाया दिशुवा, लोक गायक झलक सारु, भक्त दर्लामी,गुप्त गैरे लगायतले बेजोड प्रस्तुति समेत रहेको थियो । कार्यक्रममा सहलकोटका सबै टोलबाट स्थानीय लोक संस्कृति झल्कने मौलिक झाँकी प्रस्तुति समेत गरिएको थियो । समितिका उपाध्यक्ष निर्मला रानाको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन सचिव गणेश दर्लामी र प्रेमबहादुर बकाबलको सञ्चालनमा भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?