शहिद बहुमुखी क्याम्पसले ३२ औँ वार्षिक उत्सव मनायो

पाल्पा, शहिद बहुमुखी क्याम्पस रामपुर पाल्पाले आफ्नो ३२ औँ वार्षिक उत्सव मनाएको छ । क्याम्पसले विविध कार्यक्रमका साथ वार्षिक उत्सव सम्पन्न गरेको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष नेत्र प्रसाद भट्टराईको अध्यक्षतामा भएको वार्षिक उत्सव समापन कार्यक्रम लुम्बिनी प्रदेशका सांसद राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले व्यवहारिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो । उहाँले पछिल्लो समय शिक्षामा लगानी बढे पनि अधिकांश युवाहरु उच्च शिक्षाका लागि विदेशिएको प्रति चिन्ता व्यक्त गर्नुभयो । रामपुर ७ किसानबारी पाल्पामा भएको कार्यक्रममा रामपुर नगरपालिकाका निर्वतमान उपप्रमुख विष्णु देवि घिमिरे आचार्यले यस क्षेत्रको शैक्षिक धरोहरको रुपमा रहेको क्याम्पसलाई समय अनुसार परिस्कृत गर्दै लैजान आवश्यक रहेको बताउनुभयो । यस्तै क्याम्पस सञ्चालक समितिका सदस्य देवराज ढकालले उच्च शिक्षा प्रदान गर्ने शैक्षिक संस्था मध्ये यस क्षेत्रकै पहिलो क्याम्पस भएकाले यसको विकासका लागी सबै मिलेर अघि बढ्नु पर्ने उल्लेख गर्नुभयो ।

कार्यक्रममा सञ्चालक समिति सदस्य राम प्रसाद ढकाल (रमेश), नेपाली काँग्रेस रामपुर नगर कार्य समितिका सचिव चिरञ्जीवी सिग्देल , नेकपा एमाले रामपुरका अध्यक्ष विष्णु प्रसाद रेग्मी , नेकपा एकिकृत समाजवादी रामपुरका अध्यक्ष फणेश्वर गौतम , अक्षयकोषदाताहरुको तर्फबाट  कुमार खाँण , पत्रकार कृष्ण पौडेल , प्राध्यापक संघका सभापति शारदा प्रसाद पाण्डे ,स्ववियू सभापति ल्याकत अलि , नेवि संघ क्याम्पस ईकाइ सभापति बन्दना गैरे , अनेरास्ववियूका प्रतिनिधि राजन गौतम ,अनेरास्ववियू क्रान्तिकारीका इकाई सभापति तिलक सारुले बोल्दै शुभकामना दिनु भएको थियो ।

क्याम्पस प्रमुख मुरारी प्रसाद काफ्लेले क्याम्पसको वर्तमान अवस्था र भावी नीति तथा कार्यक्रमको बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा क्याम्पसमा स्थापना भएका विभिन्न अक्षयकोषबाट गरिब जेहेनदार तथा उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको थियो ।

साथै बार्षिक उत्सवका अवसरमा भएका विभिन्न खेलकुद तथा बैद्धिक प्रतियोगितामा विजयी हुने विद्यार्थीहरुलाई ट्रफि मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो । शहीद बहुमुखी क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुकदेव पोखरेलको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन प्राध्यापक सुर्य प्रसाद घिमिरेले गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरुको सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?