सेवा सहजताका लागि रामपुर नगरपालिकाको एकिकृत घुम्ति शिविर

पाल्पा , रामपुर नगरपालिकाले एकिकृत घुम्ति शिविर शुरु गरेको छ । जनताको आवश्यकता सेवा सहजताका लागि रामपुर नगरपालिकाले घुम्ति शिविर शुरु गरेको हो ।

नगरपालिकाले विहिबार वडा नं. १ को वडा कार्यालय भवनमा विभिन्न सेवा सहित घुम्ति शिविर सम्पन्न गरेको छ । शिविरमा आँखा ,कान ,दाँत लगाएत सम्पूर्ण स्वास्थ्य जाँच , कृषि तथा पशु सेवा , अपाङ्गता परिचय पत्र ,पञ्जिकरण , व्यवसाय दर्ता तथा नविकरण लगाएत नगरपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा दिईएको थियो ।

देशमा संघियता कार्यान्वयनमा आए संगै सिंहदरबारको अधिकार गाँउ गाँउमा भन्ने मूल नारालाई सार्थकता दिनका लागि नगरबासीको आवश्यकता र सेवा सहजताका लागि शिविर संचालन गरिएको बताउनुभयो । उहाँले जनतालाई आवश्यक सेवा जनताको घर घरमा दिनु पर्छ भन्ने उद्देश्यले नगरका विभिन्न स्थानमा शिविर सञ्चालन गरिएको बताउनु भएको छ । उहाँले भन्नुभयो –“सामान्य स्वस्थ्य जाँचका लागि पनि धेरै टाढा जानु पर्ने र अन्य सेवाका लागि नगरपालिकाको कार्यालय नै जानु पर्छ , त्यही बाध्यतालाई बुझेर जनताको स्वस्थ्य र सेवा सहजताका लागि शिविर संचालन गरेको हो । ” उहाँले भूगोलका हिसाबले टाढा रहेको वडा नं. १ र २ लाई मध्येनजर गर्दै पहिलो चरण्मा एकिकृत घुम्ति शिविर सञ्चालन गरिएको र यस पश्चात वडा नं. ९ र १० मा पनि क्रमश शिविर संचालन गर्ने नगर प्रमुख थापाले बताउनुभयो ।

शिविरबाट आँखा जाँच , दन्त परीक्षण , अन्य स्वस्थ्य परीक्षण , ज्येष्ठ नागरिक परिचयपत्र , अपाङ्ग परिचयपत्र लगायतका सेवा दिईएको रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । उहाँले सिमित स्रोत र साधनका विच सेवाग्राही नागरिकको सहज पहुँचका लागि शिविर सञ्चालन गरिएको उल्लेख गर्नुभयो । साथै शिविर मार्फत अझै धेरै अन्य सेवा समेत प्रदान गर्ने प्रतिबद्धता जनाउनु भएको छ । सामान्य सेवाका लागि धेरै समय खर्चेर पालिका सम्म पुग्नु पर्ने भएकाले थोरै भए पनि सुविधा होस भन्ने हेतुले वडा कार्यालयमा पालिकाको सबै सेवा दिन शिविर संचालन गरिएको रामपुर नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. १ का वडाध्यक्ष कपिल बहादुर खाँणले बताउनुभयो । कृषि , पशु र अन्य स्वास्थ्य जाँच सेवा वडा कार्यालयमै पाए पछि आफुलाई खुसी लागेको स्थानीय कर्ण सिं ठकुरीले बताउनुभयो ।

शिविर मार्फत १ सय ५३ जनालो पशु सेवा , १ सय २९ जनाले कृषि सेवा , १ सय ६२ जनाले आँखा परिक्षण , ६३ जनाले दन्त परिक्षण , १ सय ३९ जनाले स्वास्थ्य परिक्षण , १ जनाले अपाङ्गता परिचयपत्र , र ११ जनाले ज्येष्ठ नागरिक परिचय पत्र सेवा लिएको रामपुर नगरपालिकाका योजना शाखा प्रमुख विक्रम बस्नेतले जानकारी दिनुभयो । शिविर मार्फत २ सय १९ जना सेवाग्राहीले सेवा लिएका छन् । रामपुर नगरपालिकाले दुरी र पहुँचका हिसाबले टाढा रहेका नगरका विभिन्न स्थानमा एकिकृत घुम्ति शिविर संचालन गर्ने योजना रहेको रामपुर नगरपालिकाका सुचना अधिकारी युवराज पन्थीले जानकारी दिनु भएको छ । सामाजिक सुरक्षा भत्ता वडा र टोलबाट वितरण गर्दै आएको रामपुर नगरपालिकाले अब वडा नं. ९ मा एकिकृत घुम्ति शिविर संचालन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?