पाल्पा, रामपुर नगरपालिकामा शुक्रबार देखि मेयर कप २०८० हुने भएको छ । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समितिको सञ्चालनमा छैठौँ मेयर कप २०८० विविध खेलकुद तथा बौद्धिक कार्यक्रम हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ ।
मेयर कप अन्तर्गत ४ वटा विधामा खेल हुने भएको छ । जस अन्तर्गत महिला पूरुष भलिबल , पुरुष फुटबल , क्रिकेट र व्याडमिन्टन प्रतियोगिता हुने नगर खेलकुद विकास समिति रामपुरका अध्यक्ष कमल सेनले जानकारी दिनुभयो । प्रतियोगिताको उद्घाटन शुक्रबार विहान ११ बजे रामपुर ७ किसानबारीको खेल मैदानमा हुने बताईएको छ । पत्रकार सम्मेलनमा बोल्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले उत्कृष्ट खेलाडी उत्पादन संगै खेलकुद क्षेत्रको विकासका लागि सिमित स्रोत साधनका विच प्रतिबद्ध भएर लागेको बताउनुभयो । राष्ट्रको पहिचान संग जोडिएको खेलकुदको छुट्टै महत्व रहेको भन्दै विभिन्न समयमा हुने प्रतियोगिताले खेलाडी उत्पादनमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । साथै उहाँले खेल क्षेत्रको विकासका लागि नगरपालिकाले आगामी बर्ष करिब १ करोडको लगानीमा खेल र भूगोलको आधारमा प्याराफिट सहितको खेल निर्माण गर्ने घोषणा गर्नु भएको छ ।
पत्रकार सम्मेलनमा नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनले खेल क्षेत्रको विकासका लागि पारदर्शी र समावेशी तवरले मेयरकप सम्पन्न गरिने बताउनुभयो । साथै मेयर कपमा अन्य विधाहरु पनि थपिँदै जाने बताउनुभयो । छैठौँ मेयर कप अन्तर्गत हुने प्रतियोगिताको टाईसेट समेत सार्वजनिक गरिएको छ । नगर खेलकुद विकास समितिका अध्यक्ष कमल सेनको अध्यक्षतामा भएको पत्रकार सम्मेलन रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर स्थित पत्रकारहरुको सहभागितामा रामपुर ७ किसानबारी खेल मैदानमा भएको पत्रकार सम्मेलनको सञ्चालन महासचिव राजु गुरुङले गर्नु भएको थियो ।