पाल्पाली पत्रकार अर्याल सहित १३ पत्रकार पुरस्कृत

पाल्पा, पाल्पाली पत्रकार माधवप्रसाद अर्याल लुम्बिनी प्रदेशको स्थापना दिवसको अवसरमा पुरस्कृत हुनु भएको छ । लामो समय देखि पत्रकारिता क्रियाशील अर्याल सहित १३ जना पत्रकार श्रृजनशिल पत्रकारिता पुरस्कार बाट पुरस्कृत हुनु भएको हो ।
    लुम्बिनी प्रदेश स्थापना दिवसको उपलक्ष्यमा आइतबार प्रदेश प्रशासनिक परिसरमा आयोजित मूल समारोहमा अर्याललाई प्रदेश प्रमुख अमिक शेरचनले पुरस्कृत गर्नुभएको हो । समारोहमा सभामुख तुलाराम घर्तीमगर, मुख्य मन्त्री डिल्लीबहादुर चौधरीलगायतको उपस्थिति रहेको थियो । पाल्पामा रहेर पत्रकारिता गर्दै आउनुभएका अर्याल नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष, कान्तिपुर टेलिभिजन र अन्य विभिन्न सञ्चार संस्थामा आबद्ध हुनुहुन्छ ।
      लुम्बिनी प्रदेश सरकार गृह मन्त्रालयको संचारकर्मी सम्मान तथा पुरस्कार वितरण सम्बन्धी कार्यविधि–२०८० बमोजिम वितरण गरिने यस वर्षको अग्रज पत्रकारिता पुरस्कार र सिर्जनशील पत्रकारिता पुरस्कार वितरणका लागि मन्त्रालयले माघ १८ गते मन्त्रीस्तरीय निर्णयानुसार पाल्पाका अर्याल सहित १२ जना लाई श्रृजनशील पत्रकारिता पुरस्कार र एक जना पत्रकारलाई अग्रज पत्रकारिता पुरस्कार बाट पुरस्कृत गर्ने निर्णय सार्वजनिक गरेको थियो । सोही अनुसार श्रृजनशिल पत्रकारिता पुरस्कार बाट पुरस्कृत हुने पत्रकारहरुमा अर्याल संगै रुपन्देहीका तेजेन्द्र केसी, अर्घखाँचीका वीरेन्द्र केसी, बाँकेका अर्जुन ओली, लमहीका चुमा आचार्य, दाङका दशरथ घिमिरे, भैरहवाका रविन्द्र प्रसाद गुप्ता, रुकुम पूर्वका जयमान बुढा मगर, नेपालगन्जका सिराजुद्दिन खान, प्युठानका मधुसुदन भण्डारी, बर्दियाका रामप्रसाद चौहान र कपिलवस्तुका भुसाल थापा रहनु भएको छ । अग्रज पत्रकारिता पुरस्कार बाट लमहीका कृष्ण प्रसाद घिमिरे पुरस्कृत हुनु भएको छ ।
श्रृजनशील पत्रकारिता पुरस्कार नगद ५० हजार र अग्रज पत्रकारिता पुरस्कार नगद एक लाख राशीको रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?