आम सञ्चार कानुन र सञ्चारकर्मीको अधिकार सम्बन्धी कार्यशाला गोष्ठी सम्पन्न

पाल्पा, जिल्लाको तानसेनमा आम सञ्चार कानुन र सञ्चारकर्मीको अधिकार कार्यशाला गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रेस युनियन पाल्पा शाखाको आयोजनामा लुम्बिनी प्रदेशको आम सञ्चार कानुन र सञ्चारकर्मीको अधिकार कार्यशाला गोष्ठी सम्पन्न भएको हो ।

गोष्ठीलाई सम्बोधन गर्दै नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्सालले सदस्यता शुद्धिकरणमा अन्याय हुने गरी कुनै पनि काम नहुने बताउनुभयो । उहाँले प्रेस युनियनका कुनै पनि सदस्यले पत्रकार महासंघको सदस्यताका लागि मापदण्ड पुरा गरेर दावी गरेको र अन्याय भोग्न नपर्ने धारणा व्यक्त गर्नुभयो । गैर पत्रकारहरुको हातमा पत्रकार महासंघ जाला भन्ने डरले सुर्खेतको साधारण सभामा सदस्यता शुद्धिकरणको प्रस्ताव राखेको उहाँले बताउनुभयो।अध्यक्ष लम्सालले संगठनको मर्म अनुसार काम गर्न प्रेस युनियनका जिल्ला अध्यक्षहरुलाई आग्रह गर्नुभयो । उनले भन्नुभयो ‘संगठनले गरेका हरेक गतिविधिहरु केन्द्रलाई जानकारी गराउँनुपर्छ । संगठनलाई चलायमान बनाउन देशभर यो वर्षलाई प्रशिक्षणको वर्षको बनाउँदै छौं ।’

कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका जिल्ला सभापति हिमालदत्त श्रेष्ठले देश निर्माणमा पत्रकार जंगतको महत्वपूर्ण योगदान रहेको बताउनुभयो । पछिल्लो समय मुलुक गलत ढंगले अगाडि बढेको भन्दै त्यसलाई सही दिशामा ल्याउन पत्रकाहरु समेत सही ढंगले अगाडि बढ्न आवश्यक रहेको उल्लेख गर्नुभयो । लुम्बिनी प्रदेश गृह मन्त्रालयका सचिव लालबाबु कवारीले लोक कल्याणकारी विज्ञापन, मिडियामा देखिएका समस्याहरु, ऐन, कानुन बनाउने दिशामा प्रदेश सरकारले प्रभावकारी काम गरेको बताउनुभयो ।

कार्यक्रममा प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष जीवन भण्डारी, माधव अर्याल, युनियनका केन्द्रिय महासचिव दिलिप पौड्याल, नेपाली काँग्रेस गुल्मीका सचिव जगदीश भट्टराई, युनियनका सल्लाहकार झपेन्द्र गहिरे लगायतले आ– आफ्ना धारणा राख्नु भएको थियो। कार्यक्रममा युनियन लुम्बिनी प्रदेशका अध्यक्ष सुदिप गौतमले लुम्बिनी प्रदेशको आम सञ्चार कानुन र सञ्चारकर्मीको अधिकारका बारेमा प्रशिक्षण दिनु भएको थियो । गोष्ठीमा प्रदेश भित्रका प्रतिनिधिमूलक पत्रकारहरुको उपस्थिती रहेको थियो ।

युनियन पाल्पा शाखाका अध्यक्ष मन गहिरेको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष रामचन्द्र रायमाझीको स्वागत र सचिव विष्णु घिमिरेको सञ्चालनमा भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?