धर्म र आध्यात्मले सबै आस्था र विचारलाई एकै ठाँउमा जोड्छ – नगर प्रमुख थापा


पाल्पा, रामपुर नगरपालिका–३, शितल नगरमा रहेको वैष्णव दुर्गा मन्दिरमा दुर्गा माताको मूर्ति प्राण प्रतिष्ठाको लागि भजन कृतन , पुुजाआजा सहित यज्ञ चलिरहेको छ । प्राणप्रतिष्ठाको तयारी अन्तर्गत यज्ञ भई रहेको छ । सोही अन्तर्गत आईतबार रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मन्दिरको स्थलगत अवलोकन गर्दै यज्ञमा सहभागि हुनु भएको छ ।

पुजा तथा मन्दिरको अवलोकन गर्दै नगर प्रमुख थापाले धर्म र आध्यात्मले फरक विचार , आस्था र भावनालाई एकै ठाँउमा जोड्ने बताउनुभयो । समाजमा रहेका विकृति विसंगती संगै व्यक्ति र समाजको मतभेद हटाउन धर्म र आध्यात्मीक ज्ञानको आवश्यकता औँल्याउनुभयो । मनलाई आध्यात्म संग जोड्न सके सकारात्मक सोँचको विकास हुने र समग्र समुदायको विकासमा टेवा पुग्ने बताउनु भएको छ । नगर प्रमुख थापाले पछिल्लो समय धर्मको नाममा विकृति विसंगति फैलिएको भन्दै चिन्ता समेत व्यक्त गर्नुभयो । कार्यक्रममा अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले धर्म र आध्यात्मले मानिसलाई अनुशासन सिकाउने भन्दै धर्मको संरक्षण र सम्बद्र्धनमा लाग्नु पर्ने बताउनुभयो ।

शितल नगर आमा समुहका अध्यक्ष मैयादेवि ज्ञवालीको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रम संयोजक रन्जु भट्टराईको स्वागतबाट शुरु भएको कार्यक्रमको संचालन सञ्चारकर्मी कला खनालले गर्नु भएको थियो । नवनिर्मित मन्दिरमा यही फागुन २ गते मूर्तिको प्राण प्रतिष्ठा गरिने आमा समुहले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?