रामपुरमा सामुदायिक कुकुरको स्थायी बन्ध्याकरण शिविर सुरु

पाल्पा, रामपुरमा सामुदायिक कुकुर व्यवस्थापनका लागि स्थायी बन्ध्याकरण शिविर सुरु भएको छ । रामपुर नगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा सिद्धार्थनगर रुपन्देहीको प्राविधिक सहयोगमा दुई दिने शिविर सुरु भएको हो ।

सामुदायिक कुकुरका कारण रेविज रोगको जोखिम बढेकाले कुकुरको व्यवस्थापन र संख्या न्यूनिकरणका लागि बन्ध्याकरण संगै रेविज भ्याक्सिन शिविर सुरु गरेको नगरपालिकाले जनाएको छ । शिविरको एक कार्यक्रमका विच शुभारम्भ गरिएको थियो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम लुम्बिनी प्रदेश सभा सदस्य राजु प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले कुकुरको संख्या वृद्धि हुँदा आहारको कमीले कुकुर आक्रमक हुने हुँदा रोग फैलाउने जोखिम भएकाले व्यवस्थापन गर्नु आवश्यक रहेको बताउनुभयो । उहाँले पारिस्थितिक प्रणालीलाई कायम राख्न हरेक जीवको महत्वपूर्ण भुमिका रहने भएकाले कुकुरको व्यवस्थापनले थप सहयोग गर्ने बताउनुभयो ।

रामपुर नगरपालिकाका प्रमुख रमण बहादुर थापाले समुदायमा रहेका कुकुरले पशु चौपायासँगै माटोमा हिड्ने मानिसलाई आक्रमण गर्न थाले पछि रेबिज रोगको जोखिम न्यूनिकरण र कुकुरको व्यवस्थापन संगै संरक्षणका लागि बन्ध्याकरण र रेविज विरुद्धको भ्याक्सिन शिविर सञ्चालन गरिएको बताउनुभयो । उहाँले आगामी दिनमा पनि बनध्याकरण कार्यलाई निरन्तरता दिने बताउनुभयो । पशुचिकित्सक डाक्टर सन्दिप भट्टराईले कुकुरबाट रेबिज रोगसँगै विभिन्न रोग फैलिन सक्ने भएकाले रोकथामको लागि यस्ता शिविर आवश्यक रहेको बताउनुभयो । वातावरण तथा सामाजिक रुपान्तरणका लागि युवा संस्थाका उपसचिव अर्विन दवादीले विश्वलाई सन २०३० भित्र रेबिज अन्त्य गर्न विश्वभर कार्यक्रम सञ्चालन भैरहेको सन्दर्भमा संस्थाले पनि पालिकाहरु संग सहकार्य गरी कार्यक्रम गर्दै आएको बताउनुभयो ।

रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको स्वागत बाट सुरु भएको कार्यक्रमको सञ्चालन पशु शाखा प्रमुख तुलसीराम काफ्लेले गर्नु भएको थियो । नगरपालिकाले गत वर्ष शिविर मार्फत ८७ वटा कुकुरको बन्ध्याकरण गरेको थियो । यस वर्ष एक सय १० कुकुरको बन्ध्याकरण गर्न लागेको छ । शिविरमा पशु चिकित्सक डाक्टर सन्दिप भट्टराई र गंगा यादवको नेतृत्वको टोली खटिएको छ । टोलीले नगरको टोल–टोलमा पुगेर कुकुरलाई नियन्त्रणमा लिई शिविर स्थलमा ल्याई बन्ध्याकरण लगायत उपचार पश्चात नियन्त्रण लिइएको स्थानमै छाड्ने गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?