पाल्पा, एक सय ४७ औँ लखन थापा स्मृति दिवस रामपुरमा पनि मनाईएको छ । प्रथम शहीद लखन थापाको सम्झनामा एकिकृत मगर उत्थान समाजले रामपुर नगरपालिका–४, खोप्टार लखनपार्कमा कार्यक्रम गरी मनाईएको हो ।
एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाका अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गीको अध्यक्षतामा भएको कार्यक्रम नेपाल मगर संघका प्रदेश सदस्य थर्क बहादुर रानाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । रामपुर नगरपालिका वडा नं. ४ लखनपार्क खोप्टारमा रहेको लखन थापाको शालिकमा माल्यार्पण गर्दै प्रमुख अतिथी रानाले देश र जनताको लागि राणा विरुद्ध आवाज उठाउने प्रथम सहिद प्रति राज्यले हेर्ने दृष्टिकोण फेरिन आवश्यक रहेको बताउनुभयो । उहाँले राज्यले प्रथम सहिद घोषणा गरे पनि उचित सम्मान गर्न नसकेको गुनासो गर्नुभयो ।
कार्यक्रममा नेपाल मगर संघ पाल्पाका सांस्कृतिक उपाध्यक्ष अमिर राना, नेपाल मगर संघ रामपुर नगर सभापति राम बहादुर हिस्की थापाले राणा शासन विरुद्ध आवाज उठाएर आफ्नो प्राण आहुती दिने लखन थापालाई प्रथम सहिद घोषणा गरे पनि सवैले खुलेर बोल्न नसकेको प्रति दुख व्यक्त गर्नुभयो । एकिकृत मगर उत्थान समाजका अध्यक्ष क्याप्टेन देव बहादुर थापा मश्राङ्गीले लखन थापाको योगदान माथि चर्चा गर्नु भएको थियो । एकिकृत मगर उत्थान समाज रामपुरका उपाध्यक्ष दुर्गादेवी रानाको स्वागत बाट सुरु भएको कार्यक्रममा सहभागीहरुलाई समाजका सल्लाहाकार एवं लखन थापा शालिक निर्माण समितिका कोषाध्यक्ष लुक बहादुर विरकट्टाले धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन एकिकृत मगर उत्थान समाज रामपुर पाल्पाका सचिव जमुना रानाले गर्नु भएको थियो । दिवसको अवसरमा कार्यक्रममा सहभागिहरुले रामपुर ४ लखन पार्कमा रहेको सहिद लखन थापाको शालिकमा माल्यार्पण गरेका थिए ।