पाल्पा, स्याङ्जाको चापाकोट नगरपालिकामा विहिबार (भोली) देखि हुन गैरहेको दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८० को तयारी सकिएको छ । मेलाको तयारी सकिएको आयोजक चापाकोट उद्योग वाणिज्य संघले जनाएको छ ।
“हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने मुल नाराका साथ हुन गइरहेको महोत्सवको तयारी सकिएको मूल आयोजक समितिका संयोजक एवं चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो । चापाकोट नगरपालिका ९ गंगालाल माविको खेलमैदानमा हुन गइरहेको महोत्सवको संरक्षकमा चापाकोट नगरपालिका रहेको छ । महोत्सवको नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले विहान ११ बजे उट्घाटन गर्ने कार्यक्रम रहेको महोत्सवका सुचना तथा सञ्चार संयोजक गोपीकृष्ण रेग्मीले बताउनुभयो ।
मेलामा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, रतौली गित प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, जिल्लास्तरीय भलिवल प्रतियोगिता सहित दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ । स्थानिय उत्पादनको प्रदर्शनी र विक्रीलाई उच्च प्राथमिकतामा राखिएको महोत्सवमा कृषि तथा हस्तकला, सेवा तथा औद्योगिक र व्यापारिक गरी २५० स्टलहरु रहने आयोजकले बताएको छ ।