पाल्पा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीतिक संस्कारले मात्र संस्कार र संस्कृतिको जगेर्ना गर्न सकिने बताउनु भएको छ । स्याङ्जाको चापाकोटमा आज देखि सुरु भएको दोस्रो चापाकोट महोत्सव एवं व्यापार मेला २०८० को उट्घाटन गर्दै मन्त्री गुरुङले राजनीतिक संस्कारलाई अब्बल गराउन सकिए मात्रै नागरिक र समुदायको वीचमा रहेको संस्कारलाई अब्बल र उन्नत गराउँदै लैजान सकिने बताउनुभयो ।
‘राजनीतिक संस्कार हामी संग भयो भने याहाँको संस्कार र संस्कृतिको जगेर्न गर्न सक्दछौं । राजनीतिक संस्कारलाई अब्बल गराउन सकियो भने मात्रै नागरिक र समुदायको विचमा रहेको संस्कारलाई अब्बल र उन्नत गराउँदै लैजान सक्दछौं ।’ उहाँले भन्नुभयो । एउटा नेताले अर्को नेतालाई एउटा दलले अर्को दललाई शत्रु मान्ने परम्परा एउटा दलले अर्को दललाई सहिनसक्ने प्रवृति गलत संकार भएको बताउनुभयो । विकास निर्माणमा सबैको सहकार्य जरुरी रहने भन्दै मन्त्री गुरुङले नेपाल एउटा घर र नेपाली एउटै परिवार भएको ठान्नुपर्ने बताउनुभयो, जसको लागि सोचमा परिवर्तन गर्नुपर्ने धारणा राख्नुभयो ।
देशलाई समृद्ध बनाउनु सरकारको दायित्व र कर्तव्य रहेको बताउँदै विपन्नलाई सम्पन्न बनाएर सम्मुनत राष्ट्र निर्माण गर्ने सरकारको ध्येय रहेको स्पष्ट पार्नुभयो । चापाकोट भर्जिन सिटी रहेको भन्दै आगामी दिनमा सुन्दर शहर बनाउने दायित्व सबैको भएको बताउनुभयो । चापाकोटको कृषि क्याम्पस, ग्रामीण सडक, सिंचाई, अस्पताल, कालीगण्डकीमा निर्माणधीन पुल अलपत्र अवस्थामा परेको लगायतको सबै विषयमा जानकार रहेको र समस्या समाधानका लागि प्रतिवद्ध भएर लागिरहेको बताउनुभयो । उहाँले मेला महोत्सवले कला, संस्कृति र संरकारको संरक्षणका साथै स्थानीय स्तरमा उत्पादन भएका सामग्रीको बजारीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा चापाकोट नगरपालिकाका नगर प्रमुख देव बहादुर खाँण इश्वरले चापाकोट नगरपालिकाले सिमित स्रोत र साधनका विच विकास निर्माण संगै शिक्षा, स्वास्थ्यमा विशेष ध्यान दिदै आएको बताउनुभयो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका कोषध्यक्ष नवराज सुवेदी, जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी दिपक पौडेल, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकालले मेला र महोत्सवले स्थानको पहिचान संगै व्यवसायलाई चलायमान गराउन सहयोग गर्ने बताउनुभयो ।
१० दिन सम्म सञ्चालन हुने महोत्सवमा स्थानिय उत्पादनलाई प्राथमिकता दिईएको चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल रानाले जानकारी दिनुभयो । महोत्सवको आकर्षणको रुपमा कृषि प्रर्दशनी, धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटो प्रर्दशनी, रतौली गित प्रतियोगिता, भजन प्रतियोगिता, नृत्य प्रतियोगिता, जिल्लास्तरीय भलिवल प्रतियोगिता, बालउद्यान संगै प्याराग्लाईडिङ्ग सहित दैनिक राष्ट्रिय कलाकारहरुको प्रस्तुती रहने छ ।“हाम्रो शान हाम्रो मान, सुन्दर नगर हाम्रो पहिचान” भन्ने नाराका साथ चापाकोट उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको मेलाको चापाकोट नगरपालिका संरक्षक रहेको छ । महोत्सव उट्घाटनको अवसरमा विभिन्न समुदायको सांस्कृतिक झाँकी सहित विद्यालय, संघ संस्था र महिला समुहको उपस्थितिमा नगर परिक्रमा गरिएको थियो । चापाकोट उद्योग वाणिज्य संघका अध्यक्ष निर्मल रानाको अध्यक्षतमा भएको उट्घाटन कार्यक्रम संघका वरिष्ठ उपाध्यक्ष फर्सुराम डोटेलको स्वागत र सचिव शिव श्रेष्ठको सञ्चालनमा भएको हो ।
गंगालाल माविको खेल मैदान चापाकोट सुन्तलीटारमा सुरु भएको मेलाको पहिलो दिन स्थानीय कलाकारहरु संगै लोकदोहोरी गायक राम्जी पौडेल र गायिका तुलसा क्षेत्री लगायतको प्रस्तुति रहेको थियो ।