पाल्पा, भ्याक्सिनेटरहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय पाल्पाको आयोजना , रामपुर नगरपालिका स्वास्थ्य शाखाको समन्वयमा नगरपालिका भित्रका खोपदाताहरुका लागि अभिमुखिकरण बुधबार कार्यक्रम सम्पन्न गरेको हो ।
आगमी फागुन २१ गते देशव्यापी रुपमा हुने दादुरा रुवेला विरुद्धको खोप अभियान सम्बन्धि जानकारी दिनका लागि कार्यक्रम सञ्चालन गरिएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका खोप अधिकृत विश्वनाथ न्यौपानेले जानकारी दिनुभयो । साथै खोप अभियानलाई सफलतापूर्वक सम्पन्न गर्नका लागि प्रचार प्रसार गरि सरकारले जारी गरेको निर्देशिका अनुसार काम गर्न भ्याक्सिनेटरहरुलाई निर्देशन दिनु भएको छ ।
अभिमुखिकरण कार्यक्रममा स्वास्थ्य कार्यालय पाल्पाका तथ्यांक अधिकृत टुक प्रसाद पोखरेलले खोपको प्रक्रिया , खोप योजना , अभिलेखिकरणको तरिका र खोप निर्देशिकाको विषयमा सहजिकरण गर्नु भएको थियो । साथै उहाँले गाउँ गाउँमा रहेका सबै बालबालिकालाई नछुटाउने गरि खोप प्रदान गर्नका लागि हरेक अभिभावकलाई निमन्त्रणा सहित प्रचार प्रसार गर्न आवश्यक रहेको बताउनु भएको छ । सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत यही फागुन २१ गते ९ महिना देखि ५ वर्ष सम्मका बालबालिकाहरुलाई खोप लगाईने रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो ।
दादुरा र रुवेलाबाट बच्नका लागि सबै बालबालिकालाई खोप अनिवार्य लगाउन आग्रह समेत गर्नु भएको छ । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा रामपुर नगरपालिका भित्रका विभिन्न खोप केन्द्र र स्वास्थ्य संस्थाका २३ जना स्वास्थ्यकर्मी तथा महिला स्वयंसेविकाहरुको सहभागिता रहेको थियो ।