नगर गौशालाले वार्षिक उत्सव तथा स्थापना दिवस मनायो

पाल्पा, नगर गौशाला सञ्चालन समिति रामपुर नगरपालिका–६, तातोपानी पाल्पाले ५ औं वार्षिक उत्सव तथा स्थापना दिवस मनाएको छ । आज कार्यसमितिका पदाधिकारीहरुको उपस्थितिमा पत्रकार सम्मेलन गरी समितिको भावी योजना सहित आर्थिक प्रतिवेदन सार्वजनिक गर्दै वार्षिक उत्सव मनाएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै नगर गौशाला सञ्चालन समितिका अध्यक्ष हुमनाथ न्यौपानेले गाईले दुःख नपाउन र भोकै नरहुन् भन्ने ध्येका साथ समिति लागि रहेको बताउनुभयो । कतिपयले थाहै नपाई ल्याएर गाई छाड्द्ने क्रम अझै पनि रहँदा समस्या कायम नै रहेको बताउनुभयो । उहाँले गौशालालाई धार्मिक पर्यटनको रुपमा अघि बढाउनका लागि गौशालालाई थप व्यवस्थित बनाएर परम्परागत संग्राहालय निर्माणको योजना अघि सारेको जानकारी दिनुभयो । अध्यक्ष न्यौपानेले एक करोड ७४ लाख ८४ हजार ६ सय ५० रुपैयाँ बराबरको गत वर्षको आर्थिक प्रतिवेदन सहित  चालु आर्थिक वर्षको अपरिस्कृत विवरण पेश गर्नु भएको थियो ।

कार्यक्रममा नगर गौशालाका आजिवन सदस्य एवं सल्लाहाकार देवराज ढकालले गौशालाले गाईको संरक्षणमा महत्वपूर्ण योगदान दिएको बताउनुभयो । गाई पछिल्लो समय हराउँदै गैरहेको सन्दर्भमा नयाँ पुस्तालाई अध्ययन गर्न पनि सहज हुने बताउनुभयो । उहाँले पछिल्लो समय गाईपाल्ने क्रम हराउँदै गैरहेको सन्दर्भमा नयाँ पुस्तालाई राष्ट्रिय जनावर गाईको विषयमा जानकारी दिन सकिने बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लले गौशालाले सिमित स्रोत र साधनका विच पनि महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।

नगर गौशाला सञ्चालन समिति रामपुरका अध्यक्ष हुमनाथ न्यौपानेको अध्यक्षतमा नगर गौशालामा भएको कार्यक्रम सदस्य नारायण प्रसाद पराजुलीको स्वागत र सचिव बासुदेव ढकालको सञ्चालनमा भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?