रामपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

पाल्पा, पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको स्मृति दिवसका अवसरमा रामपुरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पूर्वप्रधानमन्त्री कोइरालाको ८ औं स्मृति दिवसको अवसरमा शुसिल कोईराला स्मृति प्रतिष्ठान लुम्बिनी प्रदेशको आयोजना, रामपुर नगरपालिकाको सह–आयोजना, काठमाडौ मेडिकल कलेजको प्राविधिक सहयोग र कालिगण्डकी फाउण्डेशन नेपालको समन्वयमा शिविर भएको हो  ।
रामपुर आयुर्वेद अस्पतालको भवनमा भएको एक दिने शिविरमा काठमाडौ मेडिकल कलेजका विषेशज्ञ डाक्टरहरुको उपस्थितिमा विभिन्न रोगको जाँच तथा उपचार गरिएको थियो । शिविरमा जनरल मेडिसिन सेवा, हाडजोर्नी तथा नशा रोग विशेषज्ञ सेवा, छाला तथा यौन रोग विशेषज्ञ सेवा, स्त्री तथा प्रसुती सेवा, नाक,कान, घाँटी सेवा, शल्यक्रिया, मानसिक तथा नशाखा रोग विशेषज्ञ सेवा, आँखा तथा दन्त रोग विशेषज्ञ सेवा, मुटु रोग विशेषज्ञ सेवा, बालरोग विशेषज्ञ सेवा प्रदान गरिएको थियो । बुधबार साँझ अबेर सम्म भएको शिविरमा एक हजार भन्दा बढीले सेवा लिएको रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले जानकारी दिनुभयो । लाभान्भितहरुको एकिन तथ्याङ्क आउन बाँकी रहेको बताउनुभयो ।
शिविरको शुभारम्भ गर्दै सुशील कोइराला स्मृति प्रतिष्ठान लुम्बिनी प्रदेशका संयोजक एवं नेपाली कांग्रेस लुम्बिनीका सभापति अमर सिं पुनले स्वर्गीय सुशील कोइरालाको स्मृतिमा प्रदेशका १२ वटै जिल्ला स्वास्थ्य परीक्षण कार्यक्रम गर्ने योजना अनुसार कार्यक्रम भएको बताउनुभयो । यस अघि ३ जिल्लामा सम्पन्न भैसकेको र अहिले पहिलो चरणमा पाल्पा, गुल्मी, अर्घखाँची र रोल्पामा कार्यक्रम हुन गैरहेको जानकारी दिनुभयो ।  जनताको स्वास्थ्य समस्या पहिचान गर्न र गम्भीर प्रकृतिका रोग बाट पिडित दुरदराजका जनताको उपचार गर्नका लागि शिविर सञ्चालन गर्न लागिएको बताउनुभयो ।
प्रतिनिधि सभा सदस्य एवं कांग्रेस केन्द्रिय सदस्य डा. सुनिल कुमार शर्माले दुरदराजमा बस्नु भएका ठूला रोग बाट पिडित जनताको समस्या पहिचान गर्न र उपचार बाट बञ्चित भएकाहरुको लागि शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले अप्रेशन गर्नु पर्ने जटिल प्रकारका विरामीहरुलाई काठमाडौ मेडिकल कलेजमा यहि फागुन २८ गते निशुल्क उपचार गर्ने व्यवस्था गरिएको बताउनुभयो । ७७ वटै जिल्लामा जाने अभियान अन्तर्गत रामपुरमा आईपुगेको बताउनुभयो ।
    रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले जनताको स्वास्थ्यका लागि प्रतिवद्ध भएर लागेको बताउनुभयो ।  उहाँले शिविर बाट काठमाडौं रिफर भएका विरामीलाई यातायात खर्चको व्यवस्था गर्ने समेत प्रतिवद्धता जनाउनुभयो । रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रम कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीको स्वागत र रामपुर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख गिरिराज घिमिरेले गर्नु भएको थियो । शिविरमा काठमाडौ मेडिकल कलेजका प्रबन्धक नारायण प्रसाद दहालको नेतृत्वमा आएका विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीहरुले सेवा प्रदान गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?