पाल्पा, पाल्पामा शुक्रबार देखि प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता सुरु भएको छ । जिल्ला भलिबल संघ पाल्पाको आयोजना र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवद्र्धन तथा मुख्य प्रायोजनमा प्रतियोगिता सुरु भएको हो ।
रामतुलसी नमुना माविको खेल मैदानमा सुरु भएको प्रतियोगिताको लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री चन्द्रकेश (सि.के) गुप्ताले उट्घाटन गर्नु भएको हो । प्रतियोगिताको उट्घाटन गर्दै मन्त्री गुप्ताले देशको नाम विश्व सामु चिनाउने उत्कृष्ट विद्या भएको बताउनुभयो । खेल जगतको विकासको लागि कुनै राजनीतिक हस्तक्षेप हुन नहुने बताउनुभयो । खेलकुद क्षेत्रमा पार्टी र जातिको कुरा आउन नहुने बताउँदै लुम्बिनी प्रदेश सरकारले खेल क्षेत्रको पूर्वाधार विकास संगै खेलाडीको क्षमता विकासको लागि पहल गरिरहेको बताउनुभयो । रामपुरमा खेलकुदको लागि सम्भावना बोकेको भुमी भएको बताउँदै उहाँले याहाँ पूर्वाधार विकासमा आगामी वर्ष अवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले जिल्लामा राष्ट्रिय स्तरको खेल हुनु गौरवको विषय रहेको बताउनुभयो । कार्यक्रममा प्रदेश खेलकुद परिषद् लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले खेलको माध्यम बाट रामपुर क्षेत्रको प्रवद्र्धनका लागि रामपुरमा प्रतियोगिता गरिएको बताउनुभयो । प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव श्रीधर शर्माले खेलकुदले देशको पहिचान संगै लैङ्गिक समानतामा उदाहरण पेश गरेको बताउनुभयो । साथै उहाँले नेपालको पहिचान संगै खेलले संस्कृति र संस्कार प्रदान गर्ने स्पष्ट पार्नुभयो । रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाले राष्ट्रिय स्तरको खेलले नयाँ खेलाडीहरुलाई थप उत्प्रेरणा प्रदान् गर्ने बताउनुभएको थियो । कार्यक्रममा जापानिज समाजसेवी काजुमासा काकिमी ओके बाजेले स्थानीयस्तरमा राष्ट्रिय प्रतियोगिता हुँदा खुशी लागेको बताउनुभयो ।
अन्तराष्ट्रिय विपि चिन्तन प्रतिष्ठानका अध्यक्ष सन्दिप रानाले रामपुरमा प्रतियोगिता हुन सिङ्गो कालीगण्डकी बेशीका जनताको लागि गौरवको विषय रहेको बताउनुभयो । नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष रेखीराम रानाले भुगोलको आधारमा जिल्ललाई हेर्ने मनोविज्ञान परिवर्तन गर्नमा प्रतियोगिताले सहयोग गर्ने बताउनुभयो । जिल्ला भलिबल संघ पाल्पाका अध्यक्ष राजु गुरुङको अध्यक्षतामा भएको कार्यक्रम रामपुर नगरपालिका प्रमुख रमण बहादुर थापाको स्वागत र जिल्ला भलिबल संघका महासचिव कृष्ण आलेको सञ्चालनमा भएको हो ।
आठ समुहको सहभागीता रहेको प्रतियोगितामा समूह ए तर्फ एपीएफ क्लव, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश रहेको छ । समूह वि तर्फ बागमती प्रदेश, सुदुरपश्चिम प्रदेश, मधेश प्रदेश र कोशी प्रदेश रहेको छ । आगामी फागुन २२ गते सम्म हुने प्रतियोगितामा विजेता हुने प्रथम, द्वितिय, तृतिय र सान्त्वना समुहले क्रमश नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिता जिल्ला भलिबल संघ पाल्पाको आयोजना, प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवर्द्धन तथा प्रयोजन, नेपाल भलिबल संघको संयोजन, जिल्ला खेलकुद विकास समिति पाल्पा र प्रदेश भलिबल संघ लुम्बिनीको समन्वय, रामपुर नगरपालिकाको संरक्षण, रामपुर उद्योग वाणिज्य संघको प्रवद्र्धनमा सुरु भएको हो ।