पाल्पा, रामपुरमा सुरु भएको प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा लुम्बिनी, बागमती र एपीएफ क्लवले विजयी यात्रा सुरु गरेको छ । जिल्ला भलिबल संघ पाल्पाको आयोजना र प्रदेश खेलकुद परिषद् लुम्बिनीको प्रवद्र्धन तथा मुख्य प्रायोजनमा भएको प्रतियोगितामा १÷१ खेल जित्दै विजयी यात्रा थालेको हो ।
पाल्पाको रामपुरमा सुरु भएको प्रतियोगिताको उट्घाटन खेलमा गण्डकी प्रदेशलाई ३/० को सोझो सेटमा पराजित गर्दै लुम्बिनी प्रदेशले जित्न सफल भयो । उट्घाटन खेलमा पहिलो, दोस्रो र तेस्रो सेट क्रमशः २५/९, २६/२४ र २५/९ अंक लुम्बिनीले हात पारेको थियो । त्यस्तै शुक्रबार भएको खेलमा सुदुरपश्चिम प्रदेशलाई ३/० को सोझो सेटमा पराजित गर्दै बागमती विजयी भएको छ । खेलमा २५/३, २५/५ र २५/३ अंक लगातार तीन सेट सहित बागमतीले सहजै जित निकाल्दै विजयी भएको हो ।
अर्को खेलमा एपीएफ क्लवले कर्णाली प्रदेशलाई ३/० को साझो सेटले पराजित गरेको छ । २५/९, २५/५ र २५/१० अंक सहित लगातार तीन सेट हात पार्दै एपीएफ विजयी हुन सफल भएको हो ।प्रतियोगितामा एपीएफ क्लव सहित सात प्रदेश गरी आठ टिमको सहभागीता रहेको छ । सहभागी टिम मध्ये समूह ए तर्फ एपीएफ क्लव, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छ भने समूह वि तर्फ बागमती प्रदेश, सुदुरपश्चिम प्रदेश, मधेश प्रदेश र कोशी प्रदेश रहेको छ । भोलि (शनिबार) पहिलो चरणको पाँच वटा खेल हुने आयोजकले जनाएको छ । पहिलो खेल विहान साढे ८ बजे मधेश प्रदेश र कोशी प्रदेश विच हुनेछ । दोस्रो खेल विहान १० बजे कर्णाली प्रदेश र गण्डकी प्रदेश, तेस्रो खेल दिउँसो १ बजे बागमती र कोशी प्रदेश, चौथो खेल दिउँसो साढे २ बजे एपीएफ क्लव र लुम्बिनी प्रदेश र पाँचौं खेल अपरान्ह पौने ४ बजे सुदुरपश्चिम प्रदेश र मधेश प्रदेश विच हुनेछ ।
फागुन २२ गते सम्म हुने प्रतियोगितामा विजेता हुने प्रथम, द्वितिय, तृतिय र सान्त्वना समुहले क्रमश नगद दुई लाख ५० हजार, एक लाख ५० हजार, ७५ हजार र ३५ हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।