रामपुर नगरपालिका द्वारा खेलाडीलाई सम्मान प्रदान

पाल्पा, लुम्बिनी प्रदेशको महिला भलिबल टिमलाई रामपुर नगरपालिकाले नगद सहित सम्मान गरेको छ । रामपुरमा सम्पन्न प्रथम लुम्बिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा तृतीय स्थान हासिल गर्न सफल टिमलाई प्रोत्साहनका लागि सम्मान गरेको हो ।

एक सय १४ औं अन्तराष्ट्रिय महिला दिवसको पूर्व सन्ध्यामा विहिबार खेलाडी तथा अफिसियललाई नगद एक हजार पाँच सय रुपैयाँ र सम्मान पत्र सहित सम्मान गरेको हो । खेलाडीलाई सम्मान गर्दै नगर प्रमुख रमण बहादुर थापाले नगरभित्र दुई वटा कवर्डहल निर्माण भैरहेको जानकारी दिदै भलिबलको प्रवद्र्धनका लागि आगामी वर्ष भलिबल स्टेडियम निर्माणका लागि एक करोड विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले क्षेत्रिय स्तरको रंगशाला निर्माणको लागि डिपीआर तयार गरिए पनि लागत धेरै लाग्ने भएकाले स्थानीय तह बाट मात्र सम्भव नभएको बताउनुभयो । राज्यको तर्फ बाट खेलप्रति अझै लगानी हुन नसकेको बताउनुभयो । उहाँले लुम्बिनी कप भलिबल प्रतियोगिताले नगरलाई थप चिनाउन सहयोग गरेको बताउनुभयो ।

रामपुर नगरपालिका उपप्रमुख बालकुमारी थापाले खेल क्षेत्रको उत्थानमा महिला खेलाडीहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो । उहाँले खेलाडीहरुलाई थप हौसला प्रदान गर्न कार्यक्रम गरिएको जानकारी दिनुभयो । विगतको तुलनमा महिलाले धेरै प्रगती गरेको बताउनुभयो । रामपुर नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत चेमन प्रकाश पोखरेलले खेलकुद आवश्यकता र अधिकारको क्षेत्र भएका्े बताउनुभयो । उहाँले अन्य क्षेत्रमा सरकारले आवश्यकताको आधारमा बजेट लगानी गरे पनि खेलकुद क्षेत्रमा अधिकार र आवश्यकता दुवैलाई आधार मानेर लगानी बढाउनु आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो ।
रामपुर नगरपालिकाका प्रवक्ता  एवं रामपुर-१ का वडाअध्यक्ष  कपिल बहादुर खाँणले भुगोल अनुसार भलिबल सबै क्षेत्रलाई उपयुक्त खेल रहेको बताउँदै यसका लागि पूर्वाधार निर्माण र प्रशिक्षणमा सरोकारवाला सबैले ध्यान दिनु पर्ने बताउनुभयो । रामपुर नगरपालिकाका कार्यपालिका सदस्य शारदा आचार्यले महिलाहरुले खेलकुद मार्फत दिएको योगदानको चर्चा गर्नु भएको थियो ।

नेपाल प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष माधव अर्यालले भलिबलका लागि पाल्पा सम्भावना रहेको स्थान भएको बताउँदै बढ्दो आकर्षणलाई ध्यानमा राख्दै अन्य खेलमा भन्दा बढी भलिबलमा लगानी गर्न आवश्यक रहेको बताउनुभयो । लुम्बिनी भलिबल टिमका प्रशिक्षक अर्जुन घिमिरेले स्थानीय सरकारले खेलकुदको प्रवद्र्धनका लागि देखाएको सक्रियता प्रशंसनिय रहेको बताउनुभयो । लुम्बिनी प्रदेश भलिबल टिमका टिम क्याप्टेन निशा चौधरीले सम्मानको लागि धन्यवाद ज्ञापन गर्नुभयो । रामपुर नगरपालिकाको सभाहलमा भएको कार्यक्रम उपप्रमुख बालकुमारी थापाको अध्यक्षतामा भएको कार्यक्रम कार्यपालिका सदस्य दुर्गादेवी भण्डारी गौतमको स्वागत बाट सुरु भएको थियो । कार्यक्रमको सञ्चालन महिला विकास सहायक निरीक्षक पुजा परियारले गर्नु भएको हो ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?