पाल्पा , रामपुर नगरपालिका वडा नं. ६ पाल्पामा शिवालय मन्दिरको उद्घाटन गरिएको छ । महाशिवरात्रीको अवसर पारेर वडा नं. ६ प्याकलुक सोमरामा शुक्रबार मन्दिरको उद्घाटन सहित पुजाआजा गरिएको छ ।
मन्दिरको उद्घाटन गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले मन्दिर निर्माण संगै यसको संवद्र्धनमा ध्यान दिन आवश्यक रहेको बताउनुभयो । मन्दिरमा गरिने पुजापाठले मात्र धर्म पुरा नहुने भन्दै अन्तर आत्मादेखि गरिएको संकल्प र व्यवहारले मात्र धर्मको औचित्य पुरा हुने बताउनु भयो । नगर भित्र धेरै मन्दिर भए पनि निरन्तर पुजा गर्ने मन्दिर कमै रहेको उल्लेख गर्नुभयो । नगरपालिकामा धार्मिक पर्यटन विकास र धार्मिक महत्व बोकेका स्थानको प्रवद्र्धनका लागि नगरपालिका प्रतिबद्ध भएर लागेको बताउनु भएको छ । कार्यक्रममा रामपुर नगरपालिकाका नगर सल्लहाकार देवराज ढकाल , निवर्तमान वडा अध्यक्ष हुमनाथ न्यौपाने , राम प्रसाद गैरे , विष्णुमाया ढकाल लगाएतले बोल्दै मन्दिरको संरक्षणमा ध्यान दिन आग्रह गर्नुभयो ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खेमकर्ण भट्टराईको अध्यक्षतामा भएको मन्दिर उद्घाटन कार्यक्रम रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । समाजसेवि कृष्ण कुमार अर्यालको स्वागतबाट शुरु भएको कार्यक्रमको सञ्चालन ओम प्रकाश बस्यालले गर्नु भएको थियो। महाशिवरात्रीको अवसरमा मन्दिरमा भक्तजनहरुले पुजाआजा गरेका थिए।