रामपुरमा खागोले टोकेर दुई जना घाईते

पाल्पा, जिल्लाको रामपुर नगरपालिका–४, मा खागोले टोकेर दुई जना घाइते भएका छन् । विहिबार दिउँसो स्याङ्जाको साँखर बाट रामपुर आउने क्रममा व्यास मन्दिर नजिकै रुखमा रहेको खागोले टोकेर घाईते भएका हुन् ।

घाईते हुनेहरुमा रामपुर–२ का ४३ वर्षिय भक्त बहादुर नेपाली र उहाँको छोरा १७ वर्षिय अभिषेक नेपाली रहेको ईलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक शालिकराम खनालले जानकारी दिनुभयो । घाइते दुवै जनाको रामपुर अस्पतालमा उपचार भैरहेको छ । रामपुर अस्पतालमा उपचाररत भक्त बहादुर नेपालीले रामपुर अस्पताल उपचारको लागि आउने क्रममा खागोले टोकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उपचारको लागि साँखर बाट रामपुर अस्पताल आउँदै थियौं । व्यासमन्दिर भन्दा केही तल आउँदा एक्कासी खागोले टोक्न थाल्यो । रुखमा रहेको खागोको वरपर चरा उडिरहेको थियो ।’

खगोले टोक्न थालेपछि आफु भाग्दै कालीगण्डकी पुग्दा समेत खागोले टोक्न नछाडेको बताउँदै उहाँले भन्नुभयो, ‘म गण्डकी तर्फ भागे छोरा माथि तिर भाग्यो । पछि मलाई खोज्दै आउँदा छोरालाई झनै धेरैले टोक्यो ।’ उपचार पश्चात भक्त बहादुरको अवस्था अहिले सामान्य रहेको र गम्भिर घाइते हुनु भएका अभिषेकको पनि स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको रामपुर अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?