पाल्पा, पाल्पाको निस्दी गाउँपालिकामा आगामी चैत्र २६ देखि बैशाख ३ गते सम्म दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव हुने भएको छ । निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा महोत्सव हुन लागेको हो ।
‘कृषि पर्यटन संस्कृति र खेलकुद निस्दीको शान, समृद्ध निस्दी हाम्रो पहिचान’ भन्ने नाराका साथ महोत्सव हुन लागेको हो । स्थानीय उत्पादनको बजारीकरण, पर्यटन तथा संस्कृतिको प्रवद्र्धनका लागि निस्दी गाउँपालिकाको खेल मैदान निस्दी–४ मित्याल झ्याल्टुङ्गमा हुने महोत्सवको बारेमा निस्दी खेलकुद विकास समितिले आइतबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक उमेश कुमार गाहाको अध्यक्षतामा भएको पत्रकार सम्मेलन निस्दी गाउँपालिकाका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो ।
निस्दी गाउँपालिका उपाध्यक्ष तीरन कुमारी श्रेष्ठले महोत्सवले समग्र निस्दीको पहिचान थप टेवा मिल्ने विश्वास व्यक्त गर्नुभयो । मेलाले निस्दीको कृषि, पर्यटन र मगर संस्कृतिलाई देशैभर चिनाउनुकका साथै याहाँको उत्पादनको बजारीकरणमा टेवा दिने विश्वास लिएको बताउनुभयो । महोत्सवको बारेमा जानकारी दिदै मुल आयोजक समितिका संयोजक उमेश कुमार गाहाले निस्दी गाउँपालिका भित्र रहेका मगरी संस्कृति, कृषि उत्पादन तथा पर्यटकिय स्थलको प्रवद्र्धन संगै गाउँपालिकाको पहिचानका लागि महोत्सव हुन गैरहेको जानकारी दिनुभयो ।
स्थानीय कृषि उपज तथा हस्तकलाका सामाग्रीको विक्री वितरण, मौलिक संस्कृति प्रवद्र्धनका लागि सांस्कृतिक झाँकी प्रदर्शन, अन्तरपालिका स्तरिय खुल्ला पुरुष भलिबल प्रतियोगिता, निस्दी डान्स आइडल सहित राष्ट्रिय कलाकारहरुको प्रस्तुति, बालउद्यान मेलाको आकर्षणको रुपमा रहने बताउनुभयो । मेलामा ५० वटा भन्दा बढी स्टल रहनेछ । मेलाको तयारीका लागि १ सय १ सदस्य मुल आयोजक समिति तथा अन्य उपसमिति गठन गरी तयारीका कार्य भैरहेको जानकारी दिनुभयो । नेपाल पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्लले निस्दी कृषि, पर्यटन संस्कृतिमा अब्बल रहेको बताउँदै मेला सफलताको शुभकामना दिनुभयो ।
मूल आयोजक समितिका उपसंयोजक प्रदिप ज्ञावलीले मेलालाई सफल पार्न सबैको साथ र सहयोगको आवश्यकता रहने बताउँनुभयो । मेला सञ्चालनको लागि ४० लाख बढी खर्च लाग्ने आयोजकले आंकलन गरेको छ । मेलामा प्रवेशको लागि १०० रुपैयाँ टिकटको व्यवस्था गरिएको र विद्यार्थी, जेष्ठ नागरिक र फरक क्षमताका व्यक्तिहरुलाई ७० रुपैयाँ तोकिएको आयोजकले जनाएको छ ।
महोत्सवको अवसरमा आयोजित अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतिय र सान्तवना हुने समुहले क्रमश नगद १ लाख ३० हजार, ८० हजार, ५० हजार र २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ । सपना होटेल बेझाँडको सभाहलमा भएको पत्रकार सम्मेलन मूल आयोजक समितिका उपसंयोजक प्रदिप ज्ञावलीको स्वागत र निस्दी खेलकुद विकास समितिका सहसचिव होम राई मगरको सञ्चालनमा भएको हो ।