पाल्पा, रामपुर नगरपालिकाले बजार क्षेत्रका पसलहरुको अनुगमन गरेको छ । उपभोक्ताको स्वास्थ्य र हितलाई मध्यनजर गर्दैै नगरपालिकाले विभिन्न पसल व्यवसायको अनुगमन गरेको हो ।
नगरपालिकाले वडा नं. ३ को रजघरा बजार , वडा नं. ४ को सदावर्त, वडा नं. ५ को मटेरी , बाङ्गेपसल , बेझाँड बजार क्षेत्रमा रहेका पसलहरुको अनुगमन गरेको हो । बजार क्षेत्रमा रहेका खाद्य तथा किराना पसल ,स्वास्थ्य क्लिनिक, मासु पसल, कस्मेटिक तथा फेन्सी पसल गरि ४६ वटा पसल तथा व्यवसायको अनुगमन गरेको हो । अनुगमनका क्रममा मूल्य सुची नराखेको, दर्ता नविकरण तथा सुचिकृत नगरेको ,म्याद गुज्रेका, लेबलिङ नभएको, अखाद्य बस्तु विक्रीका लागि राखिएको भेटिएको छ ।
अनुगमनका क्रममा म्याद गुज्रेका पेय पदार्थ, बिस्कुट, चकलेट, चाउचाउ, झिनियाँ , सुर्तिजन्य पदार्थ, पाउरोटी, तेल, सुजी, औषधी लगाएतका ३५ प्रकारका सामग्री जफत गरी नष्ट गरिएको छ । अनुगमनका क्रममा ५६ हजार ६ सय ५९ रुपैयाँ बराबरको अखाद्य बस्तु बरामद गरि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले जानकारी दिनुभयो । अनुगमनका क्रममा नियमसंगत ढंगबाट व्यवसाय सञ्चालन अनुरोध गरिएको र पटक पटक अटेर गरेमा कानुनी प्रक्रिया अनुसार कारवाही गरिने रामपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुर्य दर्शन पण्डितले बताउनुभयो । नगरबासी उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गरि अनुगमन गरिएको अनुगमन समितिका संयोजक तथा रामपुर नगरपालिकाका उपप्रमुख बाल कुमारी थापाले बताउनुभयो । साथै उपभोक्ताको स्वास्थ र खाद्य बस्तु उपभोग गर्न पाउने अधिकारलाई सुनिश्चित गरी पसल व्यवसाय सञ्चालन गर्न आग्रह समेत गर्नु भएको छ ।
अनुगमन समितिका संयोजक तथा उपप्रमुख थापाको संयोजकत्वमा भएको बजार अनुगमनमा ईलाका प्रशासन कार्यालय रामपुरका प्रमुख दिनेश ज्ञवाली, घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्यम विकास सहजकर्ता मनोज घिमिरे, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तानसेन पाल्पाका नरेश श्रेष्ठ, करदाता सेवा कार्यालय पाल्पाका योगमाया न्यौपाने, रामपुर उद्योग वाणिज्य संघका अध्यक्ष भोजेन्द्र प्रकाश ढकाल , पत्रकार महासंघ पाल्पाका सदस्य दुर्गेश मल्ल सहित प्रहरी र पत्रकारहरुकाे सहभागिता रहेको थियो ।