होली विशेष कार्यक्रमको तयारी अन्तिम चरणमा

पाल्पा, रामपुरमा हुन गैरहेको होली विशेष कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । चैत ११ गते आइतबार फागु पुर्णिमाको दिन हुन गैरहेको प्रथम होली उत्सवको तयारी अन्तिम चरणमा रहेको द खु,कुरी युथ क्लवु रामपुरले जनाएको हो ।

क्लवले शुक्रबार पत्रकार भेटघाट गर्दै कार्यक्रमको बारेमा जानकारी दिएको थियो । होलीको अवसरमा देशका मुख्य शहरहरुमा विशेष कार्यक्रम हुँदै आएपनि रामपुरमा पहिलो पटक कार्यक्रम सञ्चालन गर्न लागिएको क्लवका अध्यक्ष शंकर सुनारले बताउनुभयो । युवाहरुको चाहानालाई लक्ष्यित गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिनुभयो । साथै होलीको सांस्कृतिक महत्वलाई उजागर गर्दै, सामाजिक कार्यमा लाग्नका लागि युवाहरुलाई प्रेरित गर्ने लक्ष्य रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रम पश्चात बचत भएको रकम सामाजिक कार्यमा खर्च गरिने उहाँले बताउनुभयो । कार्यक्रममा अन्तराष्ट्रिय स्तर मै चर्चित र्यापर निरज मल्ल ठकुरी ‘टुकी’ र द मिष्टेरियस ग्रोभर्स व्याण्ड पोखराको प्रस्तुति रहने छ । विहान ११ बजे देखि सुरुहुने कार्यक्रमको सुरुवातमा सांस्कृतिक नृत्य र स्थानीय व्याण्डहरुको प्रस्तुति रहने छ । कार्यक्रममा घैटो फुटाल्ने कार्यक्रम समेत रहेको क्लवका उपाध्यक्ष विष्णु आचार्यले जानकारी दिनुभयो । साथै कार्यक्रममा उपस्थित दर्शकहरुलाई सहज रुपमा अवलोकन गर्नका लागि डिसप्ले बोर्डको पनि व्यवस्था गरिएको जानकारी दिनुभयो ।

क्लवले आपसी सद्भावका साथ रंग खेल्नका लागि पुरुष तथा महिलाहरुलाई छुट्टाछुट्टै स्थान तोकिने जनाएको छ । कार्यक्रम रामपुर नगरको मुख्य बजार बेझाँड चोकमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?