भरुवा बन्दुक सहित चार जना पक्राउ

पाल्पा, जिल्लाको र‌ैनादेवी छहरा गाउँपालिका-७ बाट भरुवा बन्दुक सहित चार जना पक्राउ परेका छन् ।सोमबार रैनादेवी छहरा – ७ पहेलाघाटमा अस्थायी प्रहरी पोष्ट बलेवासबाट खटिएको प्रहरी टोलीले भरुवा बन्दुकसहित चार जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा रैनादेवी छहरा गाउँपालिका ८ ईटियाका ५६ बर्षिय विनोद थापा, रुपन्देही सैनामैना नगरपालिका ५ का ३१ वर्षिय सन्तोष राना, रुपन्देही सैनामैना नगरपालिका १० का ४१ वर्षिय सुकई थारु र रैनादेवी छहरा गाउँपालिका ७ धावाका २४ वर्षिय बुद्धबहादुर भन्ने रमेश कुमाल रहेका छन् । उनीहरुलाई एकनाले भरुवा बन्दुक, छर्रा र बारुद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

गस्ती रहेको प्रहरीको टोलीले थापा, राना र थारुलाई शंका लागि चेकजाँच गर्ने क्रममा सुकई थारुको साथबाट भरुवा बन्दुुकमा प्रयोग हुने छर्रा र बारुद फेला पारेको थियो । सोधपुछको क्रममा रमेश कुमालको घरमा भरुवा बन्दुक रहेको भनी खुल्न आएको र निजको घरमा खानतलासी गर्दा एकनाले भरुवा फेला पारेको प्रहरीले जनाएको छ । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?