पाल्पा, सहकारी अभियन्ता भुपति पाण्डे माथि रामपुरमा आक्रमण भएको छ । जिल्ला सहकारी संघ लिमिटेड पाल्पाका अध्यक्ष एवं बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाका सल्लाहकार पाण्डे माथि मंगलवार रामपुरमा आक्रमण भएको हो ।
आक्रमणमा परी अभियन्ता पाण्डे घाइते हुनुभएको छ । उहाँको अहिले युनाइटेड मिसन अस्पताल तानसेनमा उपचार भइरहेको छ । घटनाको बिषयलाई लिएर जिल्ला सहकारी संघ र जिल्ला बचत तथा ऋण सहकारी संघले विज्ञप्ती जारी गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ । जिल्ला सहकारी संघ लिमिटेड पाल्पाका सचिव कृष्ण भुसाल र जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड पाल्पाका अध्यक्ष जगदीश भट्टराईले सामाजिक सञ्जाल मार्फत संयुक्त विज्ञप्ती जारी गर्दै घटना प्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्नु भएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘जिल्ला सहकारी संघ लि. पाल्पाका अध्यक्ष, वचत तथा ऋण सहकारी संघ लि, का सल्लाहकार, पाल्पा जिल्ला सहकारीका असल अभियन्ता भुपति पाण्डे माथि आज मिति २०८० साल चैत्र १३ गतेका दिन दिउसाे १ वजे रामपुरमा भएकाे सांघातिक आक्रमणकाे घटनाले सिंगाे सहकारी अभियानकाे गम्भीर ध्यानाकर्षण भएकाे छ ।’
रामपुर स्थित सुर्योदय कृषि सहकारी र ताल पाेखरा कृषि सहकारी बिच एकीकरणका बिषयको छलफलका क्रममा भएको घटना निन्दनीय रहेको भन्दै विज्ञप्तीमा भनिएको छ, ‘यस बर्षको सरकारी अभियानको “सहकारी मा सुशासन प्रबिधि र एकीकरण” भन्ने नारा लाई सार्थक बनाउनको निमित्त रामपुरको सुर्योदय सहकारी र ताल पाेखरा कृषि सहकारी बिच एकीकरणका बिषयको छलफलका क्रममा जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष माथी सांघातिक आक्रमणले गर्दा गम्भीर घाइते हुनु भएको छ । उहाकाे मिशन अस्पताल तानसेनमा उपचार भई रहेकाे छ ।’
सहकारी अभियानलाई जताततैबाट विभिन्न किसिमबाट प्रहार भई रहेकाे वर्तमान अवस्थामा छलफल,सहमति र सहजताका साथ हुनपर्नेमा व्यक्तिगत रुपमा सांघातिक आक्रमण हुनु निन्दनीय र गैरकानूनी कार्य हाे तसर्थ यस्ता कार्यमा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरि कानून बमाेजिम कडा भन्दा कडा कार्यवाहीको माग गर्दै घाईते भुपति पाण्डेकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दछाै ।’