१९ वर्षीया किशोरी हत्याका अभियुक्त सार्वजनिक

पाल्पा, रिब्दिकोट गाउँपालिका–१, ख्याहाका १९ वर्षीया किशोरी पद्मा सुनारको हत्या अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । हत्या अभियोगमा सोही गाउँ कै १९ वर्षीय सागर भन्ने देवलाल सार्कीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

       गत चैत १३ गते मंगलबार सुनारको धारिलो हतियारको प्रयोगबाट विभत्स हत्या भएको थियो । प्रारम्भिक अनुसन्धान पूरा गरी हत्यामा संलग्न भएको अभियोगमा लप्सीखोलाका देवलाललाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । साथै प्रहरीले हत्याको समयमा प्रयोग भएका सामग्रीहरु कपडा, धारिलो घरेलु हतियार (हँसिया) र मृतकको मोबाईल समेत निजको घर कोठा खानतलासी गर्दा बरामद गरेको सामाग्री सार्वजनिक गरेको छ ।

    प्रहरीका अनुसार घर बाट दुई कि.मी. पर रहेको लप्सीखोलामा कपडा धुन र नुहाउन एक्लै गएको पद्मासँग सागरको खोलामै विवाद भएको थियो । धोइसकेको लुगा लिएर लप्सी खोलाबाट फर्किने क्रममा दुई सय मिटरपश्चिमको खुलखुले गैरामा पदमालाई पछाडिबाट आफ्नो साथमा रहेको हँसियाले हानेको देवलालले प्रहरी समक्ष स्वीकार गरेको प्रहरीले जनाएको छ ।

  सामान्य विवादमा रिसको आवेगमा आई धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरी समक्ष अभियुक्त देवलालले स्वीकार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले बताउनुभयो । प्रहरीले अभियुक्त सार्कीलाई सुक्ष्म अनुशन्धानको निगरानीमा राखेका कारण अभियुक्तलाई पक्राउ गर्न सहज भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिनुभयो ।

     घटना भएको थाहा पाउने वित्तिकै जिल्ला प्रहरी कार्यालय, प्रहरी चौकी अर्गली, हार्थोक, सर्देवाबाट पुगेको प्रहरी टोलीले अनुसन्धान थालेको थियो । चैत १४ गते गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल सुरक्षा गार्ड केनाइन शाखा भैरहवाबाट तालिम प्राप्त कुकुर झिकाई घटनास्थलको जाँच गरिएको थियो । त्यस पश्चात घटनास्थलमा रहेको सबुद प्रमाण संकलन र शव जाँच मुचुल्का गरी शव परीक्षणका लागि प्रादेशिक अस्पताल बुटवल पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?