आधारभूत माविमा निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न

पाल्पा, आधारभूत माध्यमिक विद्यालय रामपुर– ७, डुम्री गाउँ पाल्पामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । आधारभूत माविको आयोजना र किसान एग्रोभेट सेन्टरको सहयोगमा विद्यालय परिसरमा शिविर भएको हो ।

प्राविधिक धार तर्फ कक्षा नौ देखि १२ सम्म पशु विज्ञान विषयको कक्षा सञ्चालन गर्दै आएको विद्यालयले पशु स्वास्थ्य शिविर मार्फत पशुपन्छी पालक कृषकलाई सेवा दिएको हो । शिविरमा गाई, भैँसी, बाख्रा, कुखरा र घरपालुवा कुकुरको उपचार संगै निःशुल्क औषधी वितरण गरिएको थियो । शिविर बाट एक सय बढी कृषकको एक हजार दुई सय बढी पशुपन्छीको लागि उपचार संगै निःशुल्क औषधी वितरण गरिएको विद्यालयका पशुविज्ञान संयोजक एवं पशु चिकित्सक डा. नीरज श्रेष्ठले जानकारी बताउनुभयो । शिविरमा पशु चिकित्सक डा. नीरज श्रेष्ठ, डा. सविना श्रेष्ठ र डा. केशवराज मल्ल संगै कक्षा नौ र १२ का विद्यार्थीहरुले सेवा दिएका थिए ।

पशुको गर्भ परीक्षण, बन्ध्याकरण, गोबर परीक्षण संगै आन्तरिक तथा बाह्य परजीवी नियन्त्रण, जीवाणु नियन्त्रण तथा खुराक जन्य समस्या लगायतका रोगहरुको औषधि वितरण गरिएको छ । कुकुरलाई रेविज विरुद्धको भ्याक्सिन समेत लगाईएको छ ।साथै कृषकहरुलाई परामर्श समेत प्रदान गरिएको पशु चिकित्सक डा. श्रेष्ठले बताउनुभयो ।

कृषकहरुलाई सहज रुपमा सेवा प्रदान गर्नुका साथै पशु विज्ञान विषयको महत्व बुझाउन शिविर सञ्चालन गरिएको प्रधानाध्यापक रुपनाथ गौतमले बताउनुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज भट्टराईले विद्यार्थीलाई व्यवहारिक ज्ञान र सीप प्रदान संगै कृषकहरु प्रति थप जिम्मेवार बनाउन शिविर सञ्चालन गरिएको बताउनुभयो । आगामी दिनमा अावश्यकता अनुसार शिविर सञ्चालन गरिने उहाँले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?