किताब बिक्रीका लागि महावीर पुन पाल्पाको रामपुरमा

पाल्पा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन पाल्पाको रामपुर आईपुग्नु भएको छ । आफ्नै जीवनीमा आधारित ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ नामक किताब विक्रीको क्रममा उहाँ आइतबार साँझ रामपुर आउनु भएको हो ।

पुस्तक विक्रीको रकमले वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्ने लक्ष्य राखेर मेची महाकाली महाअभियान सञ्चालन निस्किनु भएका पुन स्याङ्जाको मिर्मी, गल्याङ हुँदै रामपुर आईपुग्नु भएको हो । रामपुर आईपुग्नु भएका उहाँलाई रामपुर युवा क्लवले न्यू होटल श्रीनगरमा पाल्पाली ढाका टोपी ओढाएर स्वागत गरेको थियो । क्लवका अध्यक्ष छम बहादुर दरै, सल्लाहाकार लेखनाथ शर्मा मरासिनी र प्रेम प्रकाश श्रेष्ठले क्लवका पदाधिकारीहरुको उपस्थिति सहित स्वागत गरेको छ ।

क्लवले महाअभियानमा जुट्नु भएकाे पुनको पुस्तक विक्रीका लागि रामपुरमा आवश्यक सहयोग गर्ने जनाएको छ । क्लवका अध्यक्ष छम बहादुर दरैले सोमबार विहानै देखि क्लवको समन्वयमा शैक्षिक संस्था संगै रामपुर स्थित संघ, संस्था र मुख्य बजार क्षेत्रमा पुस्तक विक्रीका लागि आवश्यक सहयोग गर्ने बताउनुभयो । रामपुर आईपुगे पछि पुनले सामाजिक सञ्जाल मार्फत विहान ८ बजे देखि विजयपुर बजार बाट पुस्तक विक्री सुरु गर्ने बताउनु भएको छ । उहाँले लेख्नु भएको छ, ‘पाल्पा जिल्लाको रामपुर नगरपालिकामा आईपुगेँ। मेरो आत्मकथाको किताब बिक्री बिजयपुर बजारमा बिहान ८ बजे देखी सुरु हुनेछ । माग धेरै भयो भने भोली पनि यहिँ बसिन्छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?