आलु भण्डारणका लागि रामपुर शीत भण्डार एक हप्ता खुल्ला रहने

पाल्पा, रामपुर शीत भण्डार आगामी एक हप्ताका लागि खुल्ला गरिएको छ । कृषकहरुको सहजताका लागी आलु भण्डारी गर्न एक हप्ता शीत भण्डार खुल्ला गरिएको हो ।

आइतबार देखि आगामी चैत्र २४ गते सम्मका खुल्ला गरिएको छ । शीत भण्डारको औपचारिक रुपमा खुल्ला गर्दै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले रामपुर आलु उत्पादन संगै अन्य कृषि उपजको लागि उपयुक्त भुगोल रहेको बताउँदै कृषकहरुको सहजताको लागि शीत भण्डार निर्माण गरिएको बताउनुभयो । उहाँले यस वर्ष देखि नगरपालिकाले आलु मात्र नभै अन्य फलफुल तथा तरकारी भण्डारणको लागि छुट्टै च्याम्बरको व्यवस्था गरिएको जानकारी दिनुभयो । सञ्चालनको पहिलो वर्षमा प्राविधिक त्रुटीका कारण शीत भण्डारमा केही समस्या देखिए पनि अहिले त्यस्तो समस्या नरहेको भन्दै ढुक्का साथ शीत भण्डारमा कृषि उपज भण्डारण गर्न कृषकहरुलाई आग्रह गर्नु भएको छ ।

रामपुर नगरपालिका ५ का वडा दुर्गा प्रसाद पोखरेलले शीत भण्डारणले कृषकहरुलाई थप सहज बनाएको र व्यवसायिक कृषि उत्पादनमा लाग्न अनुरोध गर्नुभयो । सुर्योदय कृषि सहकारी संस्थाका उपाध्यक्ष विनोद श्रेष्ठले नगरपालिका र सहकारीको समन्वयमा आलु भण्डारणको लागि शीतभण्डार खुल्ला  गरिएको जानकारी दिनुभयो ।

रामपुर नगरपालिका कृषि शाखा प्रमुअख नारायण प्रसाद गैरेले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै यस वर्ष थप दुई वटा च्याम्बर थप गरिएको जानकारी दिनुभयो । ३ सय मेट्रिकटन क्षमताको शीत भण्डारको पहिला्े च्याम्बरमा १ सय ३०, दास्रो र तेस्रोमा ५५/५५ र चैथो र पाँचौमा २५/२५ मेट्रिकटन भण्डारण क्षमता रहेको बताउनुभयो । शीतभण्डारमा प्रति किलो ६ रुपैयाँका दरले आलु भण्डारणको लागि व्यवस्था गरिएको छ । रामपुर नगरपालिका र सुर्योदय कृषि सहकारी संस्था लिमिटेड रामपुर पाल्पाको सहकार्यमा शीत भण्डार संचालन हुँदै आएको छ ।

रामपुर नगरपालिकाका आर्थिक विकास समितिका संयोजक दुर्गा देवी भण्डारी गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कृषि प्राविधिक युवराज नेपालीले गर्नु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?