नेपाली पोशाक सिलाई–कटाई सम्बन्धि तालिम रामपुरमा सम्पन्न

पाल्पा, नेपाली पोशाक दौरा,सुरुवाल र गुन्यु चोली सिलाई–कटाई सम्बन्धि एक महिने तालिम रामपुरमा सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय तानसेनको आयोजना र कालीगण्डकी फाउण्डेशन नेपाल, रामपुरको समन्वय भएको तालिमको सोमबार समापन गरिएको हो ।

गत फागुन २० गते देखि सुरु भएको तालिमको एक कार्यक्रमका विच प्रमाण पत्र वितरण गर्दै समापन गरिएको हो । तालिममा सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्दै रामपुर नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दुर्गा प्रसाद पोखरेलले व्यवसायिक रुपमा सिलाई कटाईमा लाग्दै आउनु भएका महिलाहरुको क्षमता विकास संगै नेपाली पोशाकको प्रवद्र्धनमा तालिमले सहयोग गरेको बताउनुभयो । मौलिक पोशाक प्रति आकर्षण बढ्दै गएपनि तयार गर्ने दक्ष जनशक्ति निकै कम रहेको बताउनुभयो । उहाँले पेशाको सम्मान गर्दै व्यवसायमा निरन्तर लाग्न अनुरोध समेत गर्नुभयो ।

घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत श्याम कुमार पौडेलले रामपुर क्षेत्रको आवश्यकतालाई महशुस गरेर तालिम सञ्चालन गरिएको बताउनुभयो । तालिमले महिलाहरुको आर्थिक स्तर वृद्धि संगै लैङ्गिक समानतामा समेत टेवा पुग्ने विश्वस लिएको बताउनुभयो । कालीगण्डकी फाउण्डेशन नेपालका अध्यक्ष निलकण्ठ भण्डारीले समुह बनाएर व्यवसायिक रुपमा नेपाली पोशाक उत्पादनमा लाग्न अनुरोध गर्नुभयो । आगामी दिनमा व्यवसाय प्रवद्र्धनको लागि थप कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । कालीगण्डकी फाउण्डेशन नेपालका उपाध्यक्ष पवित्रा पौडेल ढकालले व्यवसायिक रुपमा लाग्दै आएका महिला दिदी बहिनीहरुलाई तालिमले थप सहयोग गरेको बताउनुभयो । कालीगण्डकी फाउण्डेशन नेपालका सचिव सिपको भरपुर सदुपयोग गर्न अनुरोध गर्नुभयो । त्यस्तै तालिमका प्रशिक्षक प्रजुना सोमैले तालिममा सफल रुपमा सम्पन्न भएको बताउँदै सहभागी दिदीबहिनीहरु संगै सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो ।

प्रशिक्षार्थी लक्ष्मी ढकालले तालिमले व्यवसायमा लाग्दै आएका महिला दिदी बहिनीहरुमा थप आत्मविश्वास जगाएको बताउनुभयो । घरेलु तथा साना उद्योग कार्यालयका उद्योग अधिकृत श्याम कुमार पौडेलको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन घरेलु तथा साना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता मनोज घिमिरेले गर्नु भएको हो । पछौटेपन उन्मुलन समाज (बेस) नेपालको सभाहलमा भएको तालिममा रामपुर क्षेत्रमा व्यवसायिक रुपमा सिलाई कटाई पेशामा आवद्ध १८ जना महिलाहरुको सहभागीता रहेको थियो । प्रशिक्षक प्रजुना सोमैले नेपाली पोशाक दौरा,सुरुवाल र गुन्यु चोली तयार गर्न सिकाउनु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?