दोस्रो निस्दी कृृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सवको तयारी पुरा

धन बहादुर ठाडा
पाल्पा, सोमबार देखि सुरु हुन गैरहेको दोस्रो निस्दी कृृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सवको तयारी पुरा भएको छ । निस्दी खेलकुद विकास समितिको आयोजना र निस्दी गाउँपालिकाको संरक्षणमा चैत्र २६ सोमबार देखि वैशाख ३ गतेसम्म पाल्पाको निस्दीमा सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको आयोजकले जनाएको छ ।

निस्दी -४, मित्यालको झ्यालटुङ्गमा हुने महोत्सव तयारीको विषयमा आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिएको हो । महोत्सवको लागि मञ्च निर्माण, सचिवालय निर्माण, कम्पाउण्ड, पार्किङ , स्टल व्यवस्थापन लगायतका अन्य सबै तयारी पुरा भएको महोत्सव मुल आयोजक समितिका संयोजक उमेश कुमार गाहाले जानकारी दिनुभयो । पत्रकार भेटघाट कार्यक्रममा गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारु, प्रशासकिय अधिकृत मदन अर्याल , योजना अधिकृत अर्जुन खनाल लगायतले निस्दीको गौरवको रुपमा आयोजना हुन लागेको महोत्सव सफल बनाउन सबैको सहयोग हुनुपर्ने बताउनुभयो ।

मेलाको उट्घाटनको अवसरमा पहिलो दिन निस्दी गाउँपालिकाको ७ वटै वडाका  कौरा, ठूलोनाँच, घाटु, झ्याउरे, बालन, लगायतका झाँकी नाच प्रदर्शन हुनेछ । पहिलो दिनमा प्रथम निस्दी डान्स आइडलको अडिसन तथा यही चैत २९ गतेबाट अन्तरपालिका स्तरिय पुरुष भलिवल प्रतियोगिता हुने आयोजकले बताएको छ । महोत्सव मुल आयोजक समितिका संयोजक उमेश कुमार गाहाको अध्यक्षतामा भएको पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन प्रचारप्रसार समितिका संयोजक होम राई मगरले गर्नुभएको हो ।

महोत्सवमा प्रत्येक दिन राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति सँगै स्थानीय उत्पादनको विक्री वितरण, निस्दीका पर्यटकिय स्थलको फोटो प्रर्दशनी गरिने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?