नयाँ वर्ष र रमजानकाे अवसरमा शुभकामना आदान प्रदान सहित वृहत् ईफ्तार कार्यक्रम रामपुरमा सम्पन्न


पाल्पा , नयाँ वर्ष २०८१ र इस्लाम धर्मावलम्बीहरुकाे पर्व ईद उल फितरकाे अवसरमा शुभकामना आदानप्रदान तथा वृहत् ईफ्तार कार्यक्रम रामपुर पाल्पामा सम्पन्न भएकाे छ । धार्मिक सहिष्णुता र सद्भावका लागि रामपुरमै पहिलो पटक स्थानीय निकायबाट रमजानकाे अवसरमा कार्यक्रम भएको हाे ।

रामपुर नगरपालिका वडा नं. ४ काे आयाेजनामा इस्लाम धर्मावलम्बीहरुकाे सहभागीतामा सामुहिक ईफ्तार कार्यक्रम गरिएको हाे । रामपुर नगरपालिका वडा नं.४ का अध्यक्ष राम बहादुर रानाको अध्यक्षतामा भएकाे कार्यक्रम रामपुर नगरपालिकाका कार्यबाहक नगर प्रमुख तथा उपप्रमुख बाल कुमारी थापाकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएकाे हाे । कार्यक्रममा बाेल्दै जुनसुकै धर्ममा आस्था राखे पनि सबै एक अर्काकाे परिपुरक भएकाे बताउनुभयो । उहाँले कुनै एउटा धर्म र समुदायले मात्र विकास र समृद्धि सम्भव नभएको भन्दै सबैकाे एकता र समन्वयले मात्र सबै क्षेत्रकाे विकास हुने उल्लेख गर्नुभयो । कार्यक्रममा नेपाल मुस्लिम संघका केन्द्रीय उपसभापति हजिल दिन मियाँले मुस्लिम समुदायको रमजान र नयाँ बर्षकाे अवसरमा वडाकाे आयाेजनामा भएकाे कार्यक्रमले एकताकाे सन्देश दिएकाे बताउनुभयो । साथै  याे कार्यक्रमले समग्र मुस्लिम समुदायले सम्मानकाे अनुभूति गरेकाे भन्दै  आगामी दिनमा पनि निरन्तरता दिन आग्रह गर्नुभयो ।

यस्तै रम्भा गाउँपालिका वडा नं.१ का वडाध्यक्ष इश्वर काफ्लेले फरक धर्म र समुदाय फरक भए पनि कर्म सबैकाे एउटै हुने भन्दै सबै समुदायको सम्मान गर्न आवश्यक रहेकाे बताउनुभयो । यसैगरी रामपुर नगरपालिका वडा नं.५ का अध्यक्ष दुर्गा प्रसाद पाेखरेलले धर्म र संस्कार फरक भए पनि राष्ट्रिय एकता र आवश्यकतामा एक हुनु पर्ने बताउनुभयो । रामपुर ४ देविस्थान पाल्पामा भएकाे कार्यक्रममा ज्येष्ठ नागरिक संघ पाल्पाका अध्यक्ष देवराज ढकाल ,नेपाली काँग्रेस पाल्पाका सहसचिव हमिद अलि मियाँ ,राष्ट्रिय स्वतन्त्र पार्टी रामपुरका सदस्य टेक बहादुर क्षेत्री ,रामपुर उद्योग वाणिज्य संघका महासचिव खिम बहादुर क्षेत्री , समाजसेवी विष्णु प्रसाद आचार्य ,ईस्रात मियाँ ,लुक बहादुर विरकट्टा , कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक मनिराज अधिकारी ,रानिवन तथा बडाभान सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष सीता प्रधान , गाेदाम चाैपारी टाेल विकास समितिका संयाेजक माेहन बहादुर थापाले बाेल्दै नयाँ वर्ष र रमजानकाे अवसरमा शुभकामना दिनु भएकाे थियाे ।

रामपुर नगरपालिका वडा नं .४ का सदस्य महम्मद ताजिम शेखकाे स्वागतबाट शुरु भएकाे कार्यक्रमकाे सञ्चालन वडा सदस्य माेहन सिं रानाले गर्नु भएकाे थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?