सम्पादकीय : हाम्रो यात्रा पाँचौ वर्षमा प्रवेश

जिल्लाको पूर्वी क्षेत्रको पहिलो अनलाईन पत्रिका कटुवाल खबर डटकमले आरम्भ गरेको यात्रा आज देखि पाँचौं वर्षको यात्रा तर्फ लम्केको छ । ‘सहयात्री सूचना र समाचारको…..’ भन्ने नाराका साथ ऐतिहासिक एवं कला, संस्कृति र सम्पदाले भरीपूर्ण जिल्ला पाल्पाको रामपुरमा स्थापना भएको अनलाईन सञ्चालनको क्रममा हामीले विभिन्न आरोह–अवरोह पार गर्दै पाँचौं वर्षमा प्रवेश गरेको जानकारी गराउन पाउँदा हामीले आफूलाई गौरवान्वित महसुस गरेका छौं ।
यस सुखद् अवसरमा ‘कटुवाल खबर डटकम’ का पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुक तथा सहकर्मी सञ्चारकर्मी सबै सबैमा हार्दिक आभार व्यक्त गर्दछौं । कोरोना महामारीका विच रामपुर क्षेत्रमा क्रियाशिल पत्रकारहरु मार्फत सञ्चालनमा आएको कटुवाल खबर अनलाईन विविध समस्या र चुनौतिहरुलाई चिर्दै सत्य, तथ्य र निष्पक्ष खबर सम्प्रेषण गर्दै आफ्नो यात्रालाई अवछिन्न रुपमा अघि बढाई रहेको छ ।

स्थापनाको सुरुवातमा विश्वलाई आक्रान्त पारेको कोरोना महामारी र लकडाउनका कारण घर वरपर वा कोठा मै सिमित भएको अवस्थामा सूचना प्राप्त गर्ने अधिकारको प्रत्याभूति दिलाउनुलाई प्रमुख जिम्मेवारीको रुपमा लिएका थियौ । “नमस्कार ! सूचनाको सारथी, कटुवाल खबर, अब कोही नहुन्, नरहुन् बेखबर । katuwalkhabar.com मा याहाँलाई हार्दिक स्वागत छ ।” भन्ने उद्घोषका साथ २०७७ साल बैशाख १ मा कटुवाल खबर डटकमले आफ्नो यात्रा आरम्भ गरेको थियो । सुरुवातको केही समयलाई हामीले परिक्षणका रुपमा लिएर अघि बढ्यौं । त्यस लगतै २०७७ साल असार १४ गते कम्पनी रजिष्टारको कार्यालयमा सीताकुण्ड मिडिया प्रा.लि. दर्ता गरी २०७७ असोज १५ गते नियमक निकाय सूचना तथा प्रसारण विभागमा अनलाईन दर्ता गरी निकाय प्रेस काउन्सिलमा सूचीकृत भएर अविछिन्न यात्रा सुरुवात गरेका थियौं ।

सोही अनुरुप राष्ट्रिय तथा अन्तराष्ट्रिय महत्वका विषय संगै विशेष गरी लुम्बनी र गण्डकी प्रदेशका अन्तर्गत कालीगण्डकी उपत्यका भित्रका खबरलाई प्राथमिकतामा राखेर सम्प्रेषण गर्दै आएको छ । सुरुवातका दुई वर्ष हामीले कोरोना महामारी विरुद्ध भएका प्रयास, उपचार, अक्सिजन आपूर्ति, खोप विषयका सामाग्री सम्प्रेषणमा जोड दियौं । तेस्रो वर्ष २०७९ लाई निर्वाचन वर्षको रुपमा लियौं । स्थानीय तह निर्वाचन, प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनलाई केन्द्रि विन्दुमा राखेर अघि बढ्यौं । यस संगै समाजको मुल प्रवाह भन्दा पर रहेका भुईमान्छेका विषय उठान संगै कालीनदी सभ्यताको संरक्षण अभियानका विषयमा पनि हामी पछि हटेनौ । दैनिक घटना र गतिविधि, प्रकृतिक विपद्, समाजका क्रियाकलाप, विकास निर्माण, अनियमितता, लापरर्वाहीका समाचार संगै पर्यटन तथा व्यवसायिक क्षेत्रमा भएका सकारात्मक प्रयास र सम्भावनाहरु उधिन्ने प्रयास गर्दै आएका छौं ।  विसंगति र विकृतिका विरुद्ध तथ्यमा आधारित भएर र निष्पक्षताका साथ कलम चलाउँदै आएका छौं ।

समाचार सम्प्रेषण संगै स्थानीय स्तरमा भएका गतिविधिहरु विश्वभर छरिएर रहेका नेपालीहरु समक्ष पु¥याउन फेसबुक तथा युट्युव मार्फत लाईभ भिडियो सामाग्री प्रसारणलाई पनि निरन्तरता दिदै आएका छौं । पाँचौं वर्षलाई पछ्याउँदै गर्दा हामीले जनचासोका विषय र आम नागरिकको प्रत्यक्ष जीवन संग सरोकार राख्ने विषयलाई सत्य, तथ्य र सन्तुलित बनाएर सबै भन्दा छिटो पस्कने प्रयासमा छौं । यता मुल प्रवाह भन्दा बाहिर रहेका भुईमान्छेहरुको विषय उठान गर्न लागि पर्ने छौं ।

प्रविधिको विकास संगै भ्रामक सूचनाको विगविगी बढ्दो क्रममा रहेको छ । जसका कारण सामाजिक सञ्जाल र अनलाईन पत्रिकालाई समान रुपमा हेर्ने गरेको पाईन्छ । समाजमा रहेको भ्रम हटाउन पछिल्लो समय चुनौतीको रुपमा देखिएको छ । तथ्यमा रहेर तुरुन्तै खबर सम्प्रेषण गर्नुका साथै अनुसन्धान र खोज मुलक समाचार सामाग्री याहाँहरु समक्ष ल्याउने प्रयास सदा रहने विश्वास दिलाउन चाहान्छौं ।

कटुवाल खबर अनलाईनलाई सबै नेपालीको पहुँचमा पुग्ने भरपर्दो सञ्चार माध्यम बनाउने प्रयासरत छौ । अनलाईनको लोकप्रियता तथा प्रतिष्ठा कायम राख्न र अझ उचाइमा पु¥याउन सम्पूर्ण पाठक, समाचार श्रोत, लेखक, विज्ञापनदाता, शुभेच्छुकबाट निरन्तर साथ, सहयोग र समर्थनको अपेक्षा गर्दछौँ । हामी विश्वस्त छौं, याहाँहरुको साथ निरन्तर पाईरहने छौं । याहाँहरुको सल्लाह र शुभेच्छालाई अंगिकार गर्दै सत्य, तथ्य र निष्पक्ष हाम्रो मुलमन्त्रलाई जप्दै हाम्रो यात्रालाई निरन्तरता दिन प्रतिवद्ध छौं । पाठकहरुले गर्नु भएको विश्वासलाई कदापी टुट्न दिने छैनौं ।

विगतको सुचना प्रवाहको आधार, कुटुवाल प्रथाले दिएको योगदानको उच्च सम्मान गर्दै अथक यात्रामा निस्किएको कटुवाल खबरलाई सूचनाको भरपर्दो सेतुको रुपमा विकास गर्न लागिरहने छौं । वितेका वर्षको समिक्षा गर्दै २०८१ साल यहाँहरु सबैको शुभ रहोस्, सफल र सुखद् बनोस् । धन्यवाद ।

दुर्गेश मल्ल
प्रधान सम्पादक
कटुवाल खबर डटकम

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?