पाल्पा, दोस्रो निस्दी महोत्सवमा भएको अन्तरपालिका स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधी बौदीकाली गाउँपालिका नवलपुरले हात पारेको छ । दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सव अन्तर्गत भएको प्रतियोगिताको फाइनलमा चापाकोट नगरपालिका स्याङ्जालाई ३–० को सोझो सेटले हराउँदै बौदीकालीले उपाधि हात पारेको हो ।
सोमबार भएको फाइनल खेलमा पहिलो, दोस्रो र तेस्रो सेट बौदीकालीले २५–२२, २५–१८ र २५–१४ अंक सहित जित निकाल्दै उपाधी चुमेको हो ।फाइनलमा पराजित भए संगै चापाकोट द्वितिय स्थानमा सिमित भएको छ । गत चैत २९ देखि मेला स्थल निस्दी–४, मित्यालको झ्याल्टुङ्ग खेल मैदानमा भएको प्रतियोगितामा घिरिङ गाउँपालिका तनहुँ तृतीय हुन सफल भएको छ । तृतिय स्थान छनौटको लागि भएको खेलमा निस्दी गाउँपालिकालाई २५–१३, २५–२२ र २८–२६ अंक सहित ३–० को सोझो सेटमा पराजित गर्दै घिरिङ तृतीय भएको हो । यस संगै निस्दी गाउँपालिकाले सान्तवना स्थानमा चित्त बुझाएको छ ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी बौदीकाली गाउँपालिकाका विश्वास अधिकारी, उत्कृष्ट स्पाईकर बौदीकाली गाउँपालिकाका अशोक श्रेष्ठ, उत्कृष्ट सेटर बौदीकाली गाउँपालिकाका दान बहादुर गाहा, उत्कृष्ट डिफेण्डर चापाकोट नगरपालिकाका राजन दर्लामी, उत्कृष्ट सर्भर घिरिङ गाउँपालिकाका सुजन राना, उत्कृष्ट ब्लकर चापाकोट नगरपालिका विवश थापा र उत्कृष्ट कोच बौदीकाली गाउँपालिकाका सञ्जित सिंजाली हुनु भएको छ । प्रतियोगिताको विजेता टोलीले नगद १ लाख ३० हजार, द्वितीय हुनेले ८० हजार, तृतीय हुनेले ५० हजार र सान्त्वना हुनेले २५ हजार रुपियाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगितामा पाल्पा, स्याङ्जा, तनहुँ र नवलपुरका ६ समुहको सहभागीता रहेकोृ थियो । मेला समापन समारोहका विच प्रतियोगिताको विजेता समुहलाई प्रतिनिधि सभा सदस्य ठाकुर प्रसाद गैरेले पुरस्कार वितरण गर्नु भएको थियो ।