पाल्पा, दोस्रो निस्दी कृषि, पर्यटन, सांस्कृतिक तथा खेलकुद महोत्सवको अन्तिम दिन सोमबार दिउँसो
देखि दर्शकको उपस्थिति बाक्लिदै गैरहेको थियो । अन्तिम दिन कलाकारको प्रस्तुतिमा रमाउन युवा देखि वृद्ध सम्मको उपस्थिति मेला स्थलमा देखिन्थ्यो ।
अन्तरपालिका स्तरीय पुरुष भलिबलको फाइनल खेल सकिए संगै दर्शकहरु मञ्च तर्फ झुम्मिए । जब कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठानका पूर्व अध्यक्ष बद्री पंगेनी, गायक रवि रिमाल लगाएतका कलाकारहरुको नाम उद्घोष हुन्थ्यो ताली र हुटिङ्ग चलिरहेको थियो । संगितिक माहोलमा रम्न दर्शकहरु आतुर देखिन्थ्ये । तर अन्तिम दिन सम्मान र पुरस्कार वितरणको कार्यक्रम भएकाेले कलाकारको प्रस्तुतिको समय घर्किदै गएको थियो ।
अपरान्ह पख राष्ट्रिय लोकदोहोरी गायक पंगेनी संगै रिमाल र गायिका सम्झना रनपाल र मोडल जुना कार्कीको मञ्चमा अागमन भएपश्चात उद्घोषक दिप काफ्लेले स्थानीय प्रतिभा संगै अामन्त्रित कलाकारलाई क्रमश प्रस्तुतिको लागि पालो दिदै जानुभयो । कलाकारहरुको प्रस्तुती सुरु हुँदा सम्ममा झमक्क साँझ परिसकेको थियो । त्यस पश्चात कलाकारहरुको प्रस्तुति संगै दर्शकहरु नाच्न, गाउन र रमाउन थाले ।
बद्री पंगेनीको ‘ससुरालीमा’, रवि रिमालको ‘चरी उड्यो बादलु छुनलाई’ भाका संगै सम्झना रनपालको गित र जुना कार्कीको नृत्यलगायत अन्य कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुतिले महोत्सव स्थल निस्दी-४ मित्याल झ्यालटुङ्ग मैदान गुञ्जायमन भएको थियो । कार्यक्रमको अन्तिममा बद्री पंगेनीलाई प्रस्तुतिको लागि पालो प्रदान गरिएको थियो । अधिकांश स्थानमा रमाईलो दोहोरी भाका मात्र नभै मार्मिक गित मार्फत जेष्ठ नागरिक तथा पाका पुस्ताका दर्शकलाई मन्त्र मुग्ध बनाउँदै आउनु भएका पंगेनीले सुरुवात मै रमाईलो गित मात्र प्रस्तुत गर्ने बाचा गर्नु भएको थियो ।
‘कला चल्यो गला चल्यो मान्छे चलेन’ भाका गुनगुनाउँदै मञ्च बाट दर्शक माझ पुग्नु भएका पंगेनीले ‘रातो पछ्यौरी अनी तातो पछ्यौरी’, ‘पानी सलल’, ‘कलधारा पानीको, भर हुने रैनछ यो जिन्दगानीको’, ‘ससुरालीमा’, ‘नाचौला झ्यारेको तालैमा’ सहित पञ्चे बाजाको गित प्रस्तुत गर्नु भएको थियो । उहाँले आधा दर्जन बढी गित दर्शकमाझ पुगेर गाउनु भएको थियो । ससुरालीमा गित प्रस्तुत गर्दै गर्दा दर्शकले संगसंगै गाएर तथा नाचेर साथ दिएका थिए ।
कलाकारहरुको प्रस्तुति संगै दर्शकहरु नाच्दै गर्दा कार्यक्रम स्थलमा धुलो उडेको थियो । गत चैत २६ देखि सोमबार सम्म भएको मेलाको अन्तिम दिन पनि महोत्सवमा दर्शकको उपस्थिति बाक्लो रहेको थियो ।